अध्यागमनमा छापा, कार्यालय प्रमुख भट्टराई अख्तियारको निगरानीमा

त्रिभुवन विमानस्थलभित्रै सेटिङमा मानव तस्करी

काठमाडौँ । अनियमितताको सूचना पाएपछि बुधबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ । अख्तियारको टोलीले बुधबार अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर भोलि विहीबार उपस्थित हुनेगरी छोडेकोे छ ।


भिजिट भिसामा सेटिङ गरेको तथा मानव तस्करसँग साँठगाँठ गरेर दैनिक लाखौँ रुपैयाँ असुल गरेको सूचना पुगेपछि अख्तियारले छापा मारेको हो । अध्यागमनकै मिलेमतोमा मानव तस्करी भइरहेको बारे पटक पटक उजुरी परेपछि अख्तियारले केही दिनअघि देखि नै अनुसन्धान गरिरहेको थियो । मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको तथ्यलाई पुष्टि गर्ने थुप्रै प्रमाणहरू संकल गरेपछि मात्र अख्तियारले छापा मारेको अख्तियारका एक कर्मचारीले बताएका छन् ।


अनुसन्धानका क्रममा केही तथ्य र प्रमाणहरू फेला पारेपछि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा हानेर कागजपत्र र कम्प्युटर नियन्त्रणमा लिएको छ । भट्टराईमाथि भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोप छ । उनको मोबाइल समेत जफत गरिएको छ भने मोबाइलबाट मानव तस्करको गिरोहसँग संलग्नताबारे थप प्रमाणहरू संकलन गर्ने काम अख्तिायरले गरिरहेको छ ।


छापा मार्ने सुईंको पाएपछि गृहले गरेको थियो सरुवा


भट्टराईमाथिको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको र नियान्त्रणमा लिनसक्ने सूचना गृहमन्त्रालयले सुईंको पाएपछि मंगलबार राति हतारहतार भट्टराईलाई गृहमा तानेको थियो । तर, उनीले रमाना लिएर गृहमा जान नपाउँदै अख्तियारले अध्यागमन कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।


गत असोज २१ गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णयबाट भट्टराईलाई अध्यागमन कार्यालय प्रमुख बनाएर पठाएका थिए । यस अघि उनी बागमती प्रदेशअन्तर्गत कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक थिए । तर, अध्यागमनमा चलेको असुलीधन्दा बारे मन्त्री लेखकसम्मै पटक पटक गुनासा पुगेपछि उनैकै निर्देशनमा भट्टराई गृहमा तानिएका थिए ।


त्रिभुवन अन्तराष्ट्रिय अध्यागमनमा भट्टराईको स्थानमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई सरुवा गरिएको छ । स्रोतका अनुसार भट्टराईसंगै अन्य कर्मचारीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । गृहस्रोतका अनुसार भट्टराईसहित ८ जना अरु कर्मचारी पनि गृहमा तानिएका छन् ।


पटक पटक अख्तियारको फन्दामा परिसके भट्टराई


भट्टराई विवादित छवि भएका कर्मचारीका रुपमा चिनिन्छन् । उनले यसअघि २ पटक भ्रष्टाचारको मुद्दा खेपिसकेका छन् । २०७२ सालको भूकम्पमा खरिद गरिएको त्रिपालमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबेला भट्टराईसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।


त्यसबेला उनी काठमाडौँको स्थानीय विकास अधिकारी (एलडिओ) थिए । त्रिपाल खरिद गर्दा ३५ लाख ६ हजार ६२६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसमेत ६ जनालाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले उक्त मुद्दामा भट्टराईलाई सफाइ दिएको थियो ।


त्यस्तै, राष्ट्रिय परिचयपत्र विभागको महानिर्देशक भएका बेला पनि उनी विवादमा तानिएका थिए । तर, त्यसबारे कुनै छानबिन हुन सकेन । अहिले फेरि उनै भट्टराई मानव तस्करसंगको साँठगाँठमा दैनिक करोडौँ रुपैयाँ असुली गरेको भन्ने गम्भीर अपराधमा मुछिएका छन् ।



खाडी मुलुकको ७५ हजार, यूरोपको ४ लाख


भट्टराई अध्यागमनमा पुगेको केही समयपछि नै भिजिट भिसामा युएई तथा अन्य खाडी मुलुक र युरोप जाने व्यक्तिहरूसँग चर्को रकम उठाउने गरिएको उजुरी अख्तियारमा पुगेको थियो । यो विषयमा गृहमन्त्रालयमा पनि गुनासो पुगेको थियो । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमार्फत सेटिङमा भिजिट भिसामा नेपालीलाई विदेश पठाइने गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा विमानस्थलमा रहेको अध्यागमन कार्यालयकै अधिकारीहरूको संलग्नतामा फर्जी कागजातका आधारमा नेपाली नागरिकलाई विदेश पठाइने गरेको अनुसन्धानका क्रममा खुलेको हो ।


स्रोतका अनुसार भट्टराईकै रेखेदखमा अध्यागमनका कर्मचारीहरूले खाडी मुलुकमा भिजिट भिसामा पठाउन प्रतिव्यक्ति ३० देखि ७५ हजार रुपैयाँ र यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म असुली गर्ने गरेका थिए । यस्तो असुली दैनिक ४०० देखि ५०० जनाबाट करिब १० करोड रुपेयाँसम्म हुने गरेको उजुरी अख्तियारमा पुगेको छ । यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले फर्जी कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन कार्यालयका केही कर्मचारीलाई विमानस्थलबाहिरको एक होटलबाट नगदसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया