गाडीभाडा बढाउन यातायात व्यवसायीको दबाब

काठमाडौं । यातायात व्यवसायीले गाडी भाडा बढाउन सरकारलाई दबाब दिएको छ । पटक–पटक इन्धनको मूल्य बढेकाले तत्काल सार्वजनिक सवारी साधनको भाडा बढाउन यातायात व्यवसायीले दबाब दिन थालेका हुन । पछिल्लो ९ महिनामा ११ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन आग्रह गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला सहितको टोलीले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो साता सम्ममा सार्वजनिक सवारीको भाडा बढाउन आग्रह गरेका हुन । अब पनि सरकारले भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने चेतावनी समेत महासंघले दिएको छ । २०६५ मा सरकारले तय गरेको वैज्ञानिक भाडा निर्धारण मापदण्ड अनुसार गाडी भाडा बढाउनु पर्ने व्यवसायीको भनाइ छ ।

सरकारले बनाएको उक्त मापदण्डमा पेट्रोलियम पदार्थको ३५ प्रतिशत भार र बिमा, कर, बैंक ब्याज, पाटपुर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिको ६५ प्रतिशत भार हुने व्यवस्था छ । यी आधार अनुसार बिमा, कर, बैंक, पाटपूर्जा जस्ता सामग्रीको मूल्यवृद्धिको आधारमा २०६९ सालदेखि हालसम्म भाडा समायोजन नभएको महासंघको दाबी छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सार्वजनिक सवारी सेवा दिन नसक्ने अवस्था आएको व्यवसायीको भनाई छ ।

प्रतिक्रिया