सहिद स्मृति गोल्डकप : जावलाखेललाई हराउँदै आर्मी सेमिफाइनलमा

हेटौंडा । त्रिभुवन आर्मी फुटबल क्लब स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेल मैदानमा शुक्रबार जावलाखेल यूथ क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो । खेलमा दुवै टोलीले खासै राम्रो मूभ बनाउन सकेको थिएन । शारीरिक रुपमा निकै बलियो देखिएको आर्मीले जितको लागि टाइब्रेकरसम्म पर्खनुपरेको थियो । टाइब्रेकरमा आर्मीका गोलरक्षक विवश चौधरी नायक बने । उनले जावलाखेलको राजेन्द्र रावल र विदेशी खेलाडी भिडाल लुइसको प्रहारलाई रोकेका थिए ।

जावलाखेलको फोडे फोफोना र रुपबहादुर लामाको प्रहार मात्रै गोल भएको थियो । आर्मीका दीपक गुरुङ, विकाश तामाङ, टंक बस्नेत र सेसेहाङ आङ्देम्बेको प्रहार गोलमा परिणत भएको थियो । दुईवटा प्रहार बचाएका आर्मीका गोलरक्षक चौधरी नै खेलको म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । जावलाखेलका प्रशिक्षक किशोर केसीले ‘लक’ले साथ नदिएको प्रतिक्रिया दिए । ‘निर्धारित समय गोलरहित बराबरी खेलेकै हौं । गोल गर्न नसक्दा हार व्यहोर्यौं’, उनले भने, ‘एक बर्षपछि मैदान उत्रिएर पहिलो खेल खेलेका हौं । खेलाडीहरु पनि घाइते हुँदा सोचेजस्तो खेल्न सकेनौं ।’

यता आर्मीका प्रशिक्षक चुनबहादुर थापाले पाएको मौका सदुपयोग गर्न नसकेको बताए । ‘हाम्रा ७ जना खेलाडी नेसनल क्याम्पमा रहेका छन्, जुनियर खेलाडी लिएर आएका हौं’, उनले भने, ‘अर्को खेलमा अझै सुधारिएको खेल प्रस्तुत गर्नेछौैं ।’ जारी प्रतियोगितामा शनिबार नेपाल पुलिस क्लबले संकटा क्लबसंग खेल्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मकवानपुरका स्थानीय तहको प्रायोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा १० वटा क्लवको सहभागिता रहेको छ ।

प्रतिक्रिया