देउवा र रामचन्द्रबीच वाकयुद्ध

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी बाहेक फुटमा पुगिसकेकाले सरकार जोगाउने र गिराउने खेलमा लागिरहेका छन् । दुवैलाई यो खेलमा जित निकाल्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ अनिवार्य रहेको छ । तर, कांग्रेसमा भने सरकारमा जाने वा नजाने भन्नेविषयमा सार्वजनिक कार्यक्रममै घोचपेच र वाकयुद्ध चल्न शुरु गरेको छ । नेपालको सबैभन्दा पुरानो राजनीतिक खेलाडी कांग्रेसले केही दिनअघि भने नेकपाको आधिकारिक विभाजन नभएसम्म सरकारका विषयमा कुनै निर्णय गर्ने सहमति बनेको थियो । नेकपाकै एक समुह पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेपछि कांग्रेसभित्र झगडा शुरु भएको हो ।

अनौपचारिक प्रस्ताव आएको भोलीपल्ट चितवनको श्रद्धान्जली कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच वाकयुद्ध चल्यो । दुवै जनाले ‘हुन त राजनीति भाषण गर्ने कार्यक्रम होइन’ भन्दै एक अर्काको आलोचना गर्दै आफ्नो लाइन स्पष्ट पारेका थिए । केन्द्रीय पदाधिकारीमध्ये सबभन्दा पहिले बोलेका महामन्त्री शशांक कोइराला दुई मिनेट पनि खर्च नगरी श्रद्धाञ्जली मन्तव्य दिएर बिदा भए । कांग्रेसका पूर्वसंसद् एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नेक्रममा सरकारका विषयमा पहिला पौडेलले कुरा निकालेका थिए । देउवाभन्दा पहिला सम्बोधन गरेका वरिष्ठ नेता पौडेलले पुनस्र्थापनाले एउटा संकट टरे पनि विकृतिबाट लोकतन्त्रलाई बचाउन तत्काल सरकारमा जानु नहुने धारणा राखे । हैसियत भन्दा बढी आकांक्षा राख्नु नहुने उनको भनाइ छ । पौडेलले कांग्रेस सानो संख्यामा भए पनि भूमिका ठूलो रहेकाले लोकतन्त्रको रक्षाका लागि अगाडि बढ्नुपर्ने बताए ।

तपाईंले शेरबहादुर प्रधानमन्त्री हुँदै नहोस् भन्ने चाहनु हुन्न होला जस्तो लाग्छ, सानो चित्त नगर्नुस रामचन्द्रजी, विशाल हृदय राख्नुहोस् । चित्तै सानो छ रामचन्द्रजीको भन्ने विश्वास भो । त्यसो नगर्नुस् । : सभापति देउवा

विकृति के हो, वास्तवमा कसैले पनि आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु यो महत्वाकांक्षा हो र यो विकृति हो । आफ्नो हैसियतभन्दा बढी आकांक्षा हामी कसैले पनि नराखौ : वरिष्ठ नेता पौडेल

‘आफ्नो हैसियताभन्दा बढी आकांक्षा राख्नु विकृति हो’, पौडेलले देउवातर्फ लक्षित गर्दै भने, ‘कांग्रेस सानो संख्यामा छ । तर, भूमिका ठूलो छ । प्रतिपक्षीको भूमिका सही तरिकाले निर्वाह गर्न सकियो भने मात्र लोकतन्त्रको रक्षा गर्न सकिन्छ ।’ उनले अझै पनि कांग्रेस प्रतिपक्षीको भूमिकाबाट डगमगाउनु नहुनेमा जोड दिए । ‘पुनस्र्थापनाले एउटा संकट टर्यो तर विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्छ । लोकतन्त्र सुरक्षित छैन । लोकतन्त्रमाथि देशी विदेशी शक्तिबाट षड्यन्त्र भएको छ’, पौडेलले भने, ‘जनताले भरोसा गर्ने पार्टी कांग्रेस हो । हामी प्रतिपक्षी भूमिकाबाट डगमगाउनु हुँदैन ।’

नेता पौडेलले देउवातर्फ लक्षित गर्दै कसैले पनि आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्ष राख्नु विकृति भएको बताए । ‘विकृति के हो, वास्तवमा कसैले पनि आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु यो महत्वाकांक्षा हो र यो विकृति हो । आफ्नो हैसियतभन्दा बढी आकांक्षा हामी कसैले पनि नराखौं,’ उनले भने, ‘अहिले नेपाली कांग्रेस प्रतिपक्षमा छ अहिले कांग्रेस जुन हैसियतमा संसदमा छ, जुन हैसियतमा राष्ट्रिय राजनीतिमा उपस्थित छ कांग्रेसले आफ्नो हैसियतअनुसारको भूमिका निर्वाह गर्नुपर्छ । विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ ।’ उनले सजग भएर, इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सके अर्को चोटी लोकतन्त्रको रक्षा गर्न सहयोग गर्ने बताए ।

पौडेलपछि बोलेका सभापति देउवा भने निक्कै प्रफुल्लित मुद्रामा देखिएका थिए । उनले रामचन्द्र पौडेललाई सानो चित्त नगर्न आग्रह गर्दै प्रधानमन्त्री पाए भने आफु तयार रहेको बताए । पौडेलको प्रतिपक्षमा बस्नुपर्ने गरेको प्रस्तावलाई केही मिनेटभित्रै त्यही मञ्चबाट देउवाले कांग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट गरिदिए । ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन’, पौडेललाई जवाफ दिदै देउवाले भने, ‘प्रधानमन्त्री पाउ, प्रधानमन्त्री पाउ पनि भनेको छैन । कांग्रेस भाग्नेवाला पनि छैन ।’

सभापति देउवाले आफु प्रधानमन्त्री बने पार्टीलाई नै फाइदा हुने भन्दै अवसरलाई कांग्रेसले सदुपयोग गर्नुपर्ने बताए । देउवाले पौडेलप्रति व्यङग गर्दै प्रधानमन्त्री हुन्छ भनेर चिन्ता नगर्न सुझावसमेत दिए । ‘चिन्ता नगरेहुन्छ रामचन्द्रजी, तपाईले । म प्रधानमन्त्री भए पार्टीकै बन्ने त हो । अरु पार्टीको भन्दा आफ्नै पार्टीको भए तपाईलाई पनि फाइदा होला ! खुसी हुनुहोला भन्ने लाग्छ । तपाईंले शेरबहादुर हुँदै नहोस् भन्ने चाहनु हुन्न होला जस्तो लाग्छ’, त्यसपछि देउवा एकछिन हाँस्दै भने, ‘सानो चित्त नगर्नुस रामचन्द्रजी, विशाल हृदय राख्नुहोस् । चित्तै सानो छ रामचन्द्रजीको भन्ने विश्वास भो । त्यसो नगर्नुस् ।’ देउवा बोल्दै गर्दा मञ्चमा रहेको पौडेल भने हाँसीमात्रै रहे ।
कांग्रेसमा अहिले पनि दुई खेमा रहेको छ । पौडेल पक्ष सरकारमा जान नहुने र देउवा जानुपर्ने पक्षमा देखिएका छन् । कांग्रेसको संसदीय दल र केन्द्रीय समितिमा देउवाको बहुमत रहेकाले नेकपाका तर्फबाट औपचारिक प्रस्ताव आए उनि प्रधानमन्त्री बन्ने लगभग सम्भावना बलियो देखिएको छ ।

प्रतिक्रिया