‘बि’ डिभिजन लिग सातदोबाटो ३ अंकले अगाडि

काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ३ अंकको स्पष्ट अग्रता लिएको छ । सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार श्री भगवती क्लब टोखालाई १–० ले पराजित गर्दै अपराजित सातदोबाटोले शीर्षस्थानमा अग्रता लिँदै उपाधि सम्भावनालाई बलियो बनाएको छ । सातदोबाटोको ८ खेलबाट २२ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबको १९ अंक छ । पराजित श्री भगवती ८ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा मोहन बहादुर थापामगरको वान भर्सेस वानको अवस्थाको प्रहार आकासिदा श्री भगवती क्लब टोखा अग्रता लिनबाट चुक्यो । सातौ मिनेटमा प्रवेश बस्नेतको प्रहारलाई श्री भगवतीका गोलरक्षक सुदिप गिरीले उत्कृष्ट पञ्च गर्दै बचाएपछि सातोबाटो अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा प्रवेश बस्नेतले पेनाल्टीमार्फत गोल गर्दै सातदोबाटोलाई १–० ले अघि बढाए । दिनेश राईको प्रहारलाई श्री भगवतीका लक्ष्मण जिसीले ह्यान्ड गरेपछि रेफ्रीले सातदोबाटोलाई पेनाल्टी प्रदान गरेको थियो । प्रवेश बस्नेतको प्रहारलाई गोलरक्षक सुदिप गिरीले सही दिशा दिएपनि हातमा लाग्दै गोल हुन पुगेको थियो ।

२७औं मिनेटमा डोना थापाको फ्रिकिक क्रसबारमा लागेर फर्कदा श्री भगवती बराबरीबाट चुक्यो । रिवाउन्डमा आशिष श्रेष्ठको हेडर पोस्टबाट आकासियो । ६५औं मिनेटमा डोना थापाको कर्नरमा आशिष श्रेष्ठको हेडर आकासिदा श्री भगवती बराबरीबाट चुक्यो । ६७औं मिनेटमा श्री भगवतीका प्रज्वल थापामगरको पेनाल्टी बक्सभित्रको प्रहारले पोस्टको गति लिन सकेन । ७५औं मिनेटमा भुवन बस्नेतको पासमा माल्दिना आङ्थुपोको वान भर्सेस वानको अवस्थाको प्रहारलाई गोलरक्षक सुदिप गिरीले उत्कृष्ट बचाउ गर्दा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डोना थापाको कर्नरमा आशिष श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा सातदोबाटोलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा श्री भगवती पराजित हुन पुग्यो । लिगमा सातदोबाटो अपराजित एक्लो टोली हो । सातदोबाटोले ७ जित र एक बराबरीको नतिजा निकालेको छ ।
लिगमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लब तथा पुल्चोक स्पोर्ट्स क्लब र एराउन्ड दि हिमालय बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया