खोजखबर

साख जोगाउँदै, गौरवका आयोजना

कमल खत्री २०७७ फागुन १७ गते ७:५६ मा प्रकाशित

योजना स–साना हुन्छन् उद्देश्य विकास बजेट सक्नेगरी हुने गर्दछ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउछ । संघीयता कार्यान्वयनको सुरुआती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या हुन् यी । अधिकांश स्थानीय तहका यी समस्या अहिले पनि उस्तै छन् । यसमध्ये म्याग्दीको मंगला गाउँपालिकाले केही फरक र उपलब्धिमूलक ढङ्गले आफ्ना विकास निर्माणलाई अगाडि बढाएको छ । टुक्रे योजनालाई नियन्त्रण गर्दै स्थानीय तहकै अगुवाइमा गौरवका योजना सञ्चालन गर्ने ‘विकास मोडेल’लाई मंगलाले अगाडि बढाएको छ । संघीय, प्रदेश सरकारसँगको साझेदारीमा केही ठूला र महत्वका योजना सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा पालिकाबाट १ सय ३५ वटा योजना छनोट भएकोमा अधिकांश योजनालाई वैशाखभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए ।

उनका अनुसार १ सय १० वटा योजना सम्झौता भइसकेका छन् भने १२ वटा योजनाले अन्तिम भुक्तानीसमेत लगिसकेका छन् । दर्जनौँ योजना फागुन महिनाको अन्त्सम्ममा सम्पन्न हुनेगरी तीव्र रूपमा अघि बढेका छन् । ‘गाउँपालिकाले ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत् कार्यान्वयन गर्ने नीति लिएको छ, यसरी योजना कार्यान्वयन गर्दा गाउँपालिकाको बजेट पारदर्शी तवरले खर्च हुने र विकास निर्माणमा जबाफदेहिता बढ्ने अपेक्षा गरेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले भने ।
गाउँपालिकाले पूर्वाधार निर्माणतर्फ टुक्रे योजनालाई घटाएको छ । संघ र प्रदेश सरकारसँग साझेदारी गरी पालिकास्तरमा गौरवका योजनालाई अघि बढाएको छ । पाँच वटा एक करोड बढी बजेटका योजना कार्यान्वयनमा जुटेको पालिकाको केन्द्र रहेको बाबियाचौर बजार कालोपत्र गर्न प्रदेश सरकारसँग साझेदारी गरेको छ । गाउँपालिकाले १ करोड १३ लाख लागत अनुमानमा बजार कालोपत्र योजना सञ्चालन गरेको हो । एक करोड बढी बजेटकै दुई नमुना सडक आयोजनासमेत अघि बढाइएको छ । ३ करोड ३४ लाख बजेटबाट वडा–३ र ४ का नागरिकलाई गाउँपालिकाको केन्द्र आउने पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी, ३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जोड्ने सडक स्तरोन्नति र १ करोड १५ लाख बजेटबाट बाबियाचौर–पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरेको छ ।

त्यसैगरी गाउँपालिकाले पुलचोक–पीपलबोट–पाखुँ–धारा–सिर्कुम–टीकाबाङ सडकखण्डको हाँडेभीर क्षेत्रमा बाढीले बगाएको सडक निर्माण र बस्ती संरक्षणका लागि एक करोड बजेट विनियोजन गरी कार्यान्वयनमा जुटेको छ । नदी नियन्त्रण गर्दै सडक निर्माण गर्न आरसिसी पर्खाल निर्माण गर्ने यस योजना ठेक्का मूल्यांकनको क्रममा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि काफलचौर–सल्यान–भर्जुला–भाइबाङ–हिदी सडक स्तरोन्नतिका लागि विनियोजन गरेको ५० लाख बजेटलाई समेत ठेक्का प्रक्रियामार्फत् मंगला कन्स्ट्रक्सनसँग सम्झौता गरी धमाधम पूर्वाधारको काम भइरहेको गाउँपालिकाका इन्जिनियर सुजन पाध्यायले जानकारी दिए । गाउँपालिकाले मंगला माविलाई नमुना विद्यालयका रुपमा विकास गर्न भवन पूर्वाधारमा संघीय सशर्त अनुदानबाट प्राप्त १ करोड ५० लाख बजेटलाईसमेत ठेक्का प्रक्रियामार्फत् कार्यान्वयनमा जुटेको छ । गाउँपालिकाले सडक, शिक्षा, एकीकृत भवन, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई अघि बढाएको अध्यक्ष सतप्रसाद रोकाले बताए ।

यस गाउँपालिकाले हरेक गाउँमा महिला, दलित, जनजाति, आमा, युवालगायतका वर्ग र क्षेत्रका लागि छुट्टाछुट्टै र स–साना भवन बनाउने प्रचलनलाई हटाउँदै बहुउपयोगका लागि एकीकृत भवन निर्माण गर्ने योजना सञ्चालन गरेको अध्यक्ष रोकाले बताए । अहिलेसम्म गाउँपालिकाले सिमलचौर, भाइबाङ, हिदी, झाँक्रेपानी, कुर्सिम्ला, पखेर लगायतका गाउँमा एकीकृत सामुदायिक भवन निर्माण गरिसकेको छ भने थाइबाङ र भर्जुलामा यस वर्ष भवन निर्माण कार्यलाई सम्पन्न गर्ने तयारी गरिएको छ ।

पर्यटकीयस्थल झाँक्रिपानीमा पर्यटकका लागि दृष्यावलोकन स्तम्भ (भ्यू टावर)समेत निर्माण गरी सकिएको छ । जिल्ला समन्वय समितिको कोषबाट प्राप्त बजेटबाट बुकेनी–४ को वडा कार्यालय भवन समेत तयार भएको छ । जिल्लामा आफै योजना सञ्चालन गरी वडा कार्यालय भवन निर्माण गर्ने मंगला पहिलो हो । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्र गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सशर्त अनुदान एक करोड र गाउँपालिकाको १३ लाख रुपैयाँ बजेटबाट गाउँपालिका केन्द्रसमेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो । सडक कालोपत्र हुन थालेपछि बजार क्षेत्र चिटिक्क र सफा देखिएको छ । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर गाउँपालिकास्तरमा सडक कालोपत्र गर्न सुरु भएको यो पहिलो योजना हो । जिल्लाको बेनी बजारसँगै गलेश्वर र रत्नेचौरमा छोटो दुरीको सडक मात्रै कालोपत्र छ । एक नगरपालिका बाहेक पाँच गाउँपालिकामा कुनै पनि सडक पक्की छैन ।

बाबियाचौरको कालोपत्र नै जिल्लामा रहेका गाउँपालिकामा भएको पहिलो कालोपत्र योजना हो । गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारीका कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसँगको सहमतिमा म्याद थप गरी सम्पन्न गर्न लागिएको गाउँपालिकाका इन्जिनियर सुजन पाध्यायले जानकारी दिए । करिब ६ सय मिटर सडकलाई ३ दशमलव ७५ मिटर फराकिलोमा कालोपत्र गर्ने सम्झौताअनुसार निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएको छ ।

सडकको अधिकांश स्थानमा अनुमानितभन्दा बढी साढे चार मिटर फराकिलोसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढेको सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रवीन सापकोटाले बताए । गत वर्ष बेस र सबबेससँगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो । कालोपत्र योजनालाई गुणस्तरीय र टिकाउ बनाउनका लागि निर्माण सामग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भइरहेका कालोपत्र योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालालेसमेत नियमित रूपमा निगरानी गरिरहेका छन् । हिउँदमा धुलो र वर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्र भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग वाणिज्य संघ बाबियाचौर इकाइका अध्यक्ष राजु पाण्डेले बताए ।

ग्रामीण सडकलाई व्यवस्थित र स्तरीय बनाउनका लागि मङ्गला गाउँपालिकाले नमूना सडक आयोजना सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्रदेखि वडा–३ र ४ बरङ्जा जाने र वडा–१ कुहुँहुँदै टोड्के जाने सडकलाई स्तरोन्नति गर्न गाउँपालिकाले दुई वटा नमुना सडक आयोजना सञ्चालन गरेको हो । पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी–३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जाने सडक स्तरोन्नतिको लागि राष्ट्रिय योजना आयोगको सम्पूर्ण योजनाअन्तर्गत आयोग र पालिकाको बराबर साझेदारीमा कुल ३ करोड ३४ लाख बजेटमा ठेक्का प्रक्रियामार्फत् २ करोड ८० लाखमा देब एन्ड सायर तिलक जेभीले ठेक्का लिएको छ ।

यही माघ २७ गते सम्झौता भएको यस निर्माण कम्पनीले सडकखण्डको सातबिसेखोलादेखि बरङ्जा गाउँसम्मको विभिन्न भागमा सडक स्तरोन्नति गर्ने गरी काम थालिसकेको छ । गाउँपालिकाले यसअघि नै सडक फराकिलो बनाइसकेको यस सडकखण्डमा रिटेनिङ पर्खाल, ग्याबिन जाली लगाउने, नाली निर्माणलगायतका स्तरोन्नतिको काम गर्नेछ ।

गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडकलाईसमेत नमूना सडक आयोजना सञ्चालन गरेको छ । गण्डकी प्रदेश सरकारको समपुरक बजेट ५० लाख र गाउँपालिकाको ६५ लाख बजेट विनियोजन भएको यस योजनालाई पनि ठेक्कामार्फत् कार्यान्वयनमा अघि बढाइएको छ । बोलपत्रमा सबैभन्दा कम ६८ लाख ४८ हजार ४ सय कबोल गरेको सोमरस निर्माण सेवासँग ठेक्का सम्झौताको तयारी भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय