जब सुआरेजले रुडीगरलाई चिमोटे

लण्डन । उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो टोलीका लागि गोल गर्न माहिर छन् । राष्ट्रिय टोली होस् या क्लब फुटबल, उनले हरेक टोलीमा खेल्दा गोल गरेकै हुन्छन् । यसबाहेक उनी मैदानभित्र अनुशासन तोड्ने पक्षमा पनि पटक पटक चर्चामा आउने गरेका छन् । विगतमा विपक्षी खेलाडीलाई टोकेको घटना सार्वजनिक भइसक्दा मंगलबार चेल्सीविरुद्ध च्याम्पियन्स लिगमा भने सुआरेजले विपक्षी खेलाडीलाई चिमोटे । चेल्सीका जर्मन डिफेन्डर एन्टोनियो रुडीगर र सुआरेज बलका लागि संघर्ष गरिरहँदा सुआरेज लड्न पुगे । तर उनले त्यसक्रममा रुडीगरको तिघ्राको भित्री भागमा चिमोट्न भ्याए ।

रुडीगर सुआरेजको उक्त हर्कतबाट रिसले चुर हुँदै उनीसँग विवादमा उत्रिए । यसो गर्दा सुआरेज भने हाँसेर नै बसिरहे । रेफ्रीले दुवै खेलाडीलाई छुट्ट्याए । सुरुवातमा एक्कासी दुई खेलाडीबीच पेलापेल हुँदा रेफ्रीले पनि के भएको चाल पाएनन् । तर टिभीमा रिप्ले हेर्दा भने सुआरेजले चिमोटेपछि रुडीगर रिसाएको देखियो । रेफ्रीले उक्त घटनालाई भीएआर प्रयोग भने गरेनन् । विगतमा टोकेको केहि घटना इंगित गर्दै चेल्सीकै पूर्व खेलाडीले भने सुआरेज सुध्रिएको भन्दै व्यंग्य गरे । उनले भने, ‘जब तपाईं आफ्नो बच्चाले टोक्न छोडेर चिमोट्न थालेको देख्नुहुन्छ, यसलाई सुधार नै मान्नुपर्छ ।’

सुआरेजले सन् २०१० मा आयाक्सबाट खेल्दा पिएसभीका ओतमान बक्काललाई टोकेपछि १० खेलको प्रतिबन्ध भोगेका थिए । त्यसको तीन वर्षपछि लिभरपुलबाट खेल्दा उनले चेल्सीकै ब्रानिस्लाभ इभानोभिचको काँधमा टोके । त्यसपछि सन् २०१४ को विश्वकपमा इटालीका जिओर्जियो किएलिनीलाई टोकेपछि विश्वभर चर्चा भयो ।

प्रतिक्रिया