‘अदालतको निर्णय अनपेक्षित तर सम्मान गर्छौं’

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली समुहले निर्णय अनपेक्षित भएपनि सम्मान गर्ने बताएको छ । सो समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएपनि फैसला मानेर जाने बताए । ‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता ज्ञवालीले व्यक्त गरे । ‘जे समस्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो । तर, यो कुरा पछि भयो । अहिलेलाई अदालतको फैसला स्वीकार गर्छौं’, उनले भने ।

महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिए । ‘नेपालको संविधानले नै सर्वोच्च अदालतलाई संविधानको अन्तिम व्याख्याता भनेको छ । त्यसैले अदालतको फैसलालाई पालना गर्नु सबैको कर्तव्य हुन आउँछ । हामीपनि अदालतको फैसलालाई पालना गर्छौँ’, उनले भने । अब कसरी अघि अगाडि जानुहुन्छ भन्ने प्रश्नमा पौडेलले भने, ‘हामी परिस्थितिको विश्लेषण गर्छौ र छिट्टै उपयुक्त निष्कर्षमा पुग्छौँ ।’

प्रतिक्रिया