विद्युत् शवदाहगृह स्थापना गर्न पहल सुरु

झापा । जिल्लाको कन्काई घाटमा विद्युत् शवदाहगृह निर्माण गर्न पहल सुरुआत भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमासमेत असर पु¥याएको जनाउँदै कन्काई नगरपालिकाले सो पहल सुरु गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । कन्काईघाट सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै उनले नगरपालिकाका तर्फबाट पहिलो चरणमा १० लाख उपलब्ध गराउने बताए । पवित्र कन्काई नदीको पूर्वी किनारमा रहेको कन्काई घाटको छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वातावरणको शुद्धतामा जोड दिन र विद्युत् शवदाहगृह निर्माणमा एक जुट हुन सम्बन्धित सबैमा आग्रहसमेत गरे ।

‘सानो रकम, सबैको सहभागिता व्यवस्थित घाट, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँच वटा चितास्थल सञ्चालनमा आएको घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले बताए । संस्थाका संस्थापक, आजीवन, संरक्षक र सहयोगी सदस्यबाट प्राप्त रकमबाट दुई शव दाहस्थल निर्माण भएको हो भने बिर्तामोड निवासी तिलरुपा खड्काले जगत खड्काको स्मृतिमा तेस्रो चितास्थल निर्माण गरिदिएको बताइएको छ ।

त्यस्तै मारवाडी सेवा समिति बिर्तामोडबाट चौथो र बिर्तामोड निवासी द्वारिकालाल मित्तलका सुपुत्र प्रदीप मित्तल र परिवारबाट पाँचौँ चितास्थल निर्माण भई सञ्चालनमा आएको संस्थाका अध्यक्ष कडरियाले जानकारी दिए । उनले कोटीहोम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै हालसम्म निर्माण भएका संरचनाको संरक्षण साथै सरसफाइमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया