ओलीले कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरे : युवराज ज्ञवाली

रुपन्देही । नेकपाको प्रचण्ड-नेपाल समूहका नेता युवराज ज्ञवालीले केपी ओलीलाई केशरजंग रायमाझीभन्दा बढी प्रतिगमनकारी र विश्वासघाती नेता भएको टिप्पणी गरेका छन् । ज्ञवालीले कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरेको आरोप ओलीमाथि लगाएका छन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले प्रधानमन्त्री केपी ओली नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमै राष्ट्रघाती र प्रतिगमनकारी व्यक्तिको रुपमा स्थापित भइरहेको जिकिर गरे ।

केशरजंग रायमाझी कम्युनिष्ट नेता भएर पनि महेन्द्रको शरणमा पुगेको इतिहास स्मरण गरे । ‘रायमाझीले महेन्द्रको कदमलाई समर्थन मात्र गरेका हुन्, केपी ओलीले आँफै प्रतिगमन गरेका हुन्, रायमाझी भन्दा उनी अझ प्रतिगमनकारी र विश्वासघाती हुन्, रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्‍याउन खोजेका छन्,’ उनले भने ।

ज्ञवालीले हालसालै प्रचण्ड-नेपाल समूहका लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । नेता ज्ञवालीले केपी ओलीले कम्युनिष्ट पार्टी नै खतम गर्न खोजेको आरोप लगाए । उनले भने, ‘पार्टी, देश र व्यवस्था बचाउन हामी लागिरहेका छौं । विघटनको कदम देश र जनतामाथि ठूलो विश्वासघात हो । हामी ओलीको कदमलाई असफल बनाउँछौं ।’

उनले ओलीको अहंकारको पराजय हुन जरुरी रहेको भन्दै शुक्रबार काठमाडौंमा गरेका जस्ता ठूला ठूला सभा गरिने जानकारी दिए ।

प्रतिक्रिया