‘विविधतामा वनवासी’ विमोचित

स्याङ्जा । अग्रज साहित्यकार देवीप्रसाद वनवासीको समग्र वाङ्मयसँग केन्द्रित रही लेखिएको पुस्तक ‘विविधतामा वनवासी’ विमोचन गरिएको छ । मिलन समीर र सूर्यप्रसाद लाकोजूद्वारा सम्पादित उक्त कृतिको वनवासीको ८१औं जन्मोत्सवको अवसर पारेर वालिङ प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । वालिङ नगरपालिकाको सभाकक्षमा भएको उक्त कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल र वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँणले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरे ।

विमोचनपछि खनालले नेपाली साहित्यमा स्याङ्जाली स्रष्टा वनवासीले लामो समयदेखि निरन्तर योगदान दिँदै आएको बताए । उनले समाज समृद्ध बन्न कला साहित्यको विकास हुनुपर्नेमा जोड दिए । यस्तै, खाँणले साहित्यले मानिसलाई गतिशील र ऊर्जावान् बनाउन विशिष्ट भूमिका खेल्ने विचार व्यक्त गरे । उनले कला, साहित्य तथा संस्कृतिको विकास र प्रवद्र्धनका निम्ति वालिङ नगरपालिकाले प्रतिष्ठान गठन गरेको सुनाए । उनले प्रतिष्ठानमार्फत संस्कृतिको विकासमा नगरपालिकाले आगामी दिनमा योजनाबद्ध ढंगले काम गर्ने बताए ।

कार्यक्रममा चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र पौडेल अस्तफलले नेपाली साहित्यमा वनवासीले महत्वपूर्ण योगदान दिएको बताए । कवि तथा समीक्षक भगवती पाण्डेले कविता, निबन्ध लगायतका बहुविधामा स्रष्टा वनवासीले कलम चलाएको बताइन् । कवि वसन्त खनालले स्रष्टाले समाजलाई सचेत र गतिशील बनाउन अझै काम गर्नुपर्ने बताउँदै साहित्यकार वनवासीको साहित्यिक योगदानको चर्चा गरे । कार्यक्रममा सभापति तथा पुस्तक सम्पादक मिलन समीरले कृति तयारीको सन्दर्भ र वनवासीको साहित्यिक तथा सामाजिक व्यक्तित्वका बारेमा चर्चा गरे । समीरले वालिङ नगरपालिका अन्तर्गत रहने गरी स्थापना गरिएको प्रतिष्ठानले औपचारिक रुपमा पहिलो पटक उक्त कार्यक्रम गरेको जानकारी दिए ।

उक्त कृतिको समग्र पक्षमाथि केन्द्रित रहेर समीक्षकद्वय प्रा.याम क्षेत्री र लक्ष्मीप्रसाद रेग्मीले मन्तव्य राखेका थिए । सो अवसरमा साहित्यकार देवीप्रसाद वनवासीसँगै उनकी श्रीमति सुमित्रा रेग्मीलाई गुप्ततारा स्मृति प्रतिष्ठान वालिङका कवि तथा अध्यक्ष अनन्त अर्याल, बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६ तर्फबाट अभियानका संस्थापक अभियन्ता मिलन समीर, शम्भु अर्याल र वसन्त खनालले सम्मान पत्रसहित अभिनन्दन गरेका थिए । त्यसैगरी भेषजराज साहित्य प्रतिष्ठान वालिङको तर्फबाट प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुंगाना र अग्रज कवि नारायणप्रसाद रेग्मीले समेत स्रष्टा दम्पत्तिलाई अभिनन्दनसहित सम्मान गरेका थिए ।

त्यस्तै, बृहत् काव्य गोष्ठीमा नारायणप्रसाद रेग्मी, सुदीप सुवेदी, लक्ष्मी काफ्ले, दुर्गा पौडेल, पराजित रेशम गोतामे, कमल बगाले, अग्निकुमार पल्लव, दुर्गाबहादुर रोकाहा, भगवती अर्याल पाण्डे (नवलपुर), पदम अर्याल (चितवन), लोखरी पाण्डे क्षितिज, लेखनाथ काफ्ले, चिन्तु गिरी, सीताराम अधिकारी, तिलाचन बस्याल, राजु मार्मिक राजु, राजेन्द्रगोपाल सिह (पाल्पा), पुष्करराज रेग्मी, (पाल्पा), सुरेन्द्र अस्तफल (चितवन), तुलसीराम पाण्डे र शम्भु अर्याल लगायतले रचना वाचन गरेका थिए । सो कार्यक्रममा मरुन एकेडेमी अफ पफर्मिङ आर्ट्स वालिङ, भकुण्डेको तर्फबाट पवन अधिकारी, भरत बगाले, विष्णु कोइराला, प्रशान्त बगाले, इशान परियार, राजकुमार परियार, आविद अली, दिनेश सुवेदी लगायतका कलाकारद्वारा विशेष सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा अनन्त अर्याल र कवि शम्भु अर्यालले स्रष्टा वनवासीको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया