प्रधानमन्त्री पुरुष क्रिकेट : लुम्बिनी र कर्णाली विजयी

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका छन् । सन्दिप रजाली र सौरभ खनालको अर्धशतक अनि अनिल खरेलको ४ विकेट मद्दतमा लुम्बिनी प्रदेशले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार भएको समूह बी को खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २५८ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ४२.४ ओभर खेल्दैे सबै विकेट गुमाएर १८० रन मात्र बनायो ।

प्रदेश २ का लागि विवेक यादवले अर्धशतक प्रहार गरे । उनले ४९ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ५१ रन बनाए । ओपनर सुधिर चौधरीले ४२, मेहबुब आलमले ३१ र हरिशंकर शाहले २२ रन बनाए । २५औं ओभर १०५ रन हुँदा मेहबुब तेस्रो विकेटको रुपमा आउट भएपछि प्रदेश २ को इनिङ्स धरासयी बनेको थियो । तर विवेक यादवले आक्रमक ब्याटिङ गर्दै हार अन्तर कम पारे ।

प्रदेश २ लाई अलआउट गर्न लुम्बिनीका अनिल खरेलले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै दिपेन्द्र रावत र विक्रम भुषालले समान २ विकेट लिए भने कप्तान कृष्ण कार्की र अमित तामाङले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दिप रजालीले १०७ बल खेल्दै ११ चौका मद्दतमा सर्वाधिक ८३ रन बनाए । यस्तै सौरभ खनालले ५६ र विक्रम भुसालले ३६ रन जोडे ।

बलिङमा प्रदेश २ का हरिशंकर शाहले ३ र दिव्याँशु मल्लिकले २ विकेट लिए । यस्तै मंगलबारै भएको यसै प्रतियोगिता अन्तर्गतको अर्को खेलमा हिमांशु शाहीको अर्धशतक मद्दतमा कर्णाली प्रदेशले शानदार जित हात पारेको छ । समूह ए अन्तर्गत भएको खेलमा कर्णालीले गण्डकीलाई ५ विकेटले पराजित गरेको हो । हिमांशुको अविजित ६८ रन अनि विपिन रावलको ४९ रन मद्दतमा कर्णालीले २०५ रनको लक्ष्य ३६.५ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

हिमाशुंले ६० बल खेल्दै ७ चौका मद्दतमा ६८ रन बनाए । अर्धशतकबाट एक रनले चुकेका विपिन रावलले ४५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै राज शाहले ३२ र हेमन्त ओलीले २९ रन योगदान गरे । बलिङमा गण्डकीका विपिन खत्रीले ४ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा अलआउट हुँदै २०४ रन बनाएको थियो । गण्डकीको लागि राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाए । यस्तै अर्जुन कुमालले ४६ र विपिन खत्रीले ३२ रन जोडे । बलिङमा कर्णालीका दिनेश अधिकारीले ३ तथा अनुज चुनारा र दिवान पुनले २–२ विकेट लिए । समूह ए मा पहिलो जित हात पारेको कर्णालीले २ अंक जोडेको छ । उता गण्डकीको यो दोस्रो हार हो । ३ खेलबाट गण्ठकीको २ अंक छ ।

प्रतिक्रिया