कागजमा ५० व्यवहारमा १५ शय्याको अस्पताल

पाल्पा जिल्लाकै ठूलो सरकारी अस्पतालका रूपमा रहेको रामपुर अस्पतालको सेवा ५० शय्यामा स्तरोन्नति भएको भनिए पनि नागरिकलाई दिने सेवा भने १५ शय्यामै सीमित छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सेवा दिँदै आएको यो स्वास्थ्य संस्थालाई २०७२ सालमा ५० शय्याको अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । तर, पाँच वर्ष पुगिसक्दा पनि भौतिक पूर्वाधारलगायतका सेवा अभावका कारण देखाउँदै त्यसअनुरूपकोे सेवा सुविधा दिन भने सकेको छैन ।
कागजमा यस अस्पतालको स्तरोन्नति भएको भनिए पनि व्यावहारिक कार्यान्वयन हुन नसक्दा सेवाग्राही निराश छन् । औषधि उपचारका निम्ति विभिन्न सहरमा धाउनुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीय नागरिक अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुविधा पाउने अपेक्षामा थिए । यहाँ ५० शय्यासम्म राखेर सेवा दिनेगरी अस्पताल भवनको शिलान्यास भएपछि यहाँका नागरिकमा ठूलै खुसीयाली छाएको थियो । तर, आजसम्म पनि न भवन बन्यो, न त नागरिकले यसअघि सोचेअनुसारको सेवा नै पाए ।

विकासमा बामे सर्दै गरेको रामपुर नगरपालिकाभित्र ५० शय्याको अस्पतालबाट पूर्वी पाल्पाका नागरिक लाभान्वित हुन सक्थे । रामपुरमा स्वास्थ्य सेवाको पहुँँच नभएकै कारण यहाँका धेरै नागरिकले दुःख पाएका छन् । कति स्थानीय आफुहरूले भोगचलन गर्दै आएका थातथलोसमेत छाडेर अन्यत्र बसाइँ सरेका छन् । शिक्षाजस्तै स्वास्थ्य पनि नागरिकको आधारभूत सुविधा भएकाले यसको अभावमा धेरै नागरिक यहाँबाट विस्थापित भएका छन् ।

पछिल्लो समयमा स्वास्थ्य सेवाको थप सुविधा पाउने आशाले अन्यत्र बसाइँसराइ गरी जाने तयारीमा रहेका नागरिक स्वास्थ्य क्षेत्रको दायरा फराकिलो हुने भएपछि भने गाउँमै बस्न थाले । अस्पतालको स्तरोन्नतिकै कारण यहाँका घर घडेरीको मूल्य बढेको थियो । तर, अहिले अस्पतालको भवन निर्माण कार्य सम्पन्न नभएपछि भौतिक संरचना अभावका कारण भने नेपाल सरकारले तोकेअनुसारका सेवा नागरिकले पाएका छैनन् ।

५० शय्याको अस्पताल भनिए पनि यो कागजमा मात्र सीमित बनेको छ । अहिले पनि १५ शय्याकै भवनबाट सेवा प्रवाह भइरहँदा नागरिकले स्वास्थ्य क्षेत्रको सेवा विस्तारको महसुस गर्न पाएका छैनन् । १५ शय्याको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा गण्डकीबेंसीको उपत्यकाको सदगमस्थल मानिने रामपुर नगरपालिकामा घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर ५० शय्याको सुविधा सम्पन्न भवन निर्माण थालनी गरिएको थियो ।

स्वास्थ्य क्षेत्र नागरिकको पहिलो प्राथमिकता भएकाले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाका नागरिकलाई लक्षित गरी ५० शय्याको अस्पताल निर्माण कार्य अघि बढाइयो । निर्माण कार्यको समय लम्बिँदै गए पनि अस्पताल भवनको संरचना निर्माण कार्य सुस्त छ । ०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई रामपुरमा स्वास्थ्योपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल ०७२ मा ५० शय्याका रूपमा स्तरोन्नति भई सञ्चालन हँुदै आएको छ ।

नेपाल सरकारको २२ करोड २२ लाख ५ हजार ३ सय ८३ लागतमा टेन्डर आह्वान भएकोमा रवीना कन्स्ट्रक्सन प्राली काठमाडौँसँग करिब साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष ०७२÷७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको सो अस्पतालको भवनको हालसम्म ८५ प्रतिशत मात्र भौतिक कार्य प्रगति सम्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ । स्थानीयका अनुसार करिब ६५ देखि ७० प्रतिशतको हाराहारीमा भौतिक संरचना निर्माण भएको छ ।

०७५ कात्तिक १६ मा नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ । पछिल्लो समय विश्वभर महामारीकैरुपमा फैलिएको कोभिड–१९ को असरले गर्दा पनि निर्माण कार्यमा बाधा पुगेको निर्माण व्यवसायी बताउँछन् । अबको तीन महिनाभित्रमा अस्पतालको भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने योजनाअनुसार काम अघि बढाइएको निर्माण कम्पनीका इञ्जिनीयर महम्मद अन्सारुले बताए ।

अस्पतालको नयाँ बन्दै गरेको भौतिक संरचना तयार नभएकाले १५ शय्याकै संरचनामा बसेर नागरिकलाई सेवा दिनु परेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विजय परियार बताए । ‘अस्पतालमा भौतिक स्रोतसाधन अभावले ५० शय्याको अस्पताल भए पनि हामी १५ श्ययाकै अस्पतालमा खुम्चिएर संरचना अभावमा सेवा दिनु परेको छ, बिरामीलाई संरचना तयार नभएका कारण यही अस्पतालमा दिन सकिने सेवासुविधा पनि हामीले नचाहँदा नचाहँदै अन्यत्र बजारका अस्पतालमा उपचारका लागि रिफर गरेर पठाउनुपर्ने बाध्यता छ,’ उनले भने ।

यहाँ उपचारका लागि आएका विपन्न, गर्भवती महिलालाई अस्पतालसम्म पु¥याउन र अस्पतालबाट अन्यत्र लैजानका लागि प्रदेश सरकारबाट १ लाख ५१ हजार बराबरको बजेट प्राप्त भएको डा. परियारले बताए । गरिब, विपन्न, असहाय नागरिकको उपचारमा अस्पतालले सहयोग गरेको उनको भनाइ छ । यसले गर्दा पनि पछिल्लो समय रामपुर अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या बढदो रहेको उनले बताए ।

निर्माण कम्पनीकै ढिला सुस्तीका कारण समयमै काम सम्पन्न नहुँदा नागरिकले सास्ती खेप्नुपरेको अस्पताल सञ्चालन विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतमले बताए । ‘गण्डकीबेंसीकै स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै ५० शय्याको सरकारी अस्पताल नामकरण भए पनि सेवा भने १५ शय्यबाट मात्र प्रवाह भइरहेको छ, नागरिकले यहाँ भवन अभावमा सेवा नपाएर काठमाडौं, पोखरा, भरतपुर, बुटवल, तानसेन लगायतका अन्य स्थानमा रकम खर्च गरी उपचार गर्न जानुपरेको छ, सम्बन्धित निकायले निर्माण कम्पनीलाई ताकेता गर्नुपर्ने देखिन्छ,’ उनले भने । अस्पतालबाट पाइने सेवासुविधा लिन नागरिक अझै पनि अन्यत्र जानुपर्ने बाध्यता गण्डकीबेंसीका लागि पीडादायी बनेको उनले बताए ।

५० शय्याकै सेवा सुविधा दिनसकेको खण्डमा नागरिकलाई एक त सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ बाहिर गएर उपचार गराउन नपरेपछि आर्थिक भार पनि पर्ने थिएन । यहाँको अस्पतालमा उपचार गर्न नसकिने र अन्यत्र रिफर गरिएका न्यून आय भएका बिरामी आर्थिक समस्याका कारण रोगसँग लडेर घरमै बस्न बाध्य पनि छन् । रामपुर नगरपालिका–५ बस्ने कमला परियारले पत्थरीको शल्यक्रिया रामपुर अस्पतालमा नहुने भएपछि रिफर कागज बोकेर पटकपटक सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्राभसमा पुगे पनि शल्यक्रिया हुन नसकेको गुनासो गरिन् । उनले भनिन, ‘गाउँमा ऋण खोजेर गाडी रिजर्भ गरेर लुम्बिनी मेडिकल कलेज पटकपटक पुगियो, त्यहाँ पुगेपछि उपचार गर्ने बेला प्रेसर बढेर शल्यक्रिया गर्न नपाइकन धेरै पटक घर फर्कन’ परेको छ, न उपचार भो न त धन नै रह्यो ।’

उनले शल्यक्रियाकै लागि अन्य बजारका अस्पतालमा उपचार गर्न आवतजावतमा नै धेरै रकम खर्च गरिसकिन तर उपचार भएन । घरदैलोमै सो उपचार हुने भए आवतजावतमा रकम खर्चनुपर्ने थिएन । आफूले भनेको समय सेवा पाउने र सेवा दिन सजिलो पर्ने हुँदा अन्यत्र जाने झन्झट पनि हट्ने थियो । पाल्पा जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुर नगरपालिका क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माण भएपछि नागरिक औषधि उपचारमा राम्रो सुविधा उपभोग गर्न पाउने आशामा थिए । नयाँ भवन निर्माण भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिस्टलगायतका अत्याधुनिक सेवा सुविधा नागरिकले उपभोग गर्न पाउने बताइएको छ ।

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन यस क्षेत्रकै ठूलो र सुविधा सम्पन्न भवन निर्माण भएपछि रामपुर अस्पतालबाट गण्डकीबेंसी क्षेत्रका पाँच लाखभन्दा बढी नागरिक लाभान्वित हुनेछन् । तर, अहिले नै भने सुविधा सम्पन्न अस्पतालको अभावमा नागरिकले सास्ती खेप्दै आएका छन् । यस अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा विशेषज्ञ चिकित्सकसहितको सेवा लिन पूर्वी पाल्पावासी जिल्ला सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल, बुटवल, भैरहवा, पोखरा, काठमाडौं लगायतका विभिन्न अस्पतालमा धाउन बाध्य छन् । इमर्जेन्सी सेवाका लागि अस्पतालबाट रिफर गरिएका बिरामीलाई समयमा अस्पतालमा पु¥याउन नसक्दा नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । वर्षायामको सडक समस्याका कारण बर्सेनि नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् । गण्डकीबेंसीकै ठूलो अस्पताल भएकाले यस अस्पतालमा उपचारका लागि हाल दैनिक दुई सयदेखि २ सय ५० सम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल स्थानीय, अस्थायी र करारमा गरी ६५ जना कर्मचारी कार्यरत छन् । यीमध्ये चिकित्सक तीन जना, स्टाफ नर्स एक जना, प्रशासन शाखामा तीन जना, एक्स–रे शाखामा एक जना कर्मचारी रहेका अस्पतालका प्रशासन सहायक हिरा विकले बताए । उनका अनुसार नागरिकलाई सहज सेवा दिन अस्पतालले अहिले दुई वटा एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । अस्पतालको भवन निर्माणमै ढिलाइ हुँदा सेवाको क्षेत्र बिस्तार गर्न नसकिएको र यसले गर्दा हाल अस्पतालमा सेवा विस्तारका लागि गुनासो आउने गरेको उनले बताए ।

प्रतिक्रिया