पाँच खेलाडीसम्म परिवर्तन गर्न पाइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ५ खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको छ ।
एन्फाले फागुन दोस्रो साताबाट सुरु हुने ‘बी’ लिग खेल्ने क्लबलाई एन्फाका केन्द्रिय सदस्य रमेश रायमाझी र ‘बी’ डिभिजनको निर्देशक सन्जीव मिश्रले प्रतियोगिताको नियमबारे जानकारी गराउदै ५ खेलाडी परिवर्तन गर्न सकिने जानकारी गराएको हो । यसअघि तीन खेलाडी परिवर्तन गर्न पाउने नियम रहेको थियो । कोरोना महामारीका कारण गत वर्षको चैतबाट रोकिएको ‘बी’ लिग फागुन ११ गतेबाट सुरु हुँदैछ ।

यस्तै एन्फाले बाँकी खेलका लागि थप पाँच खेलाडी दर्ताको लागि अनुमति दिएको छ । यससँगै ‘बी’ डिभिजन क्लबले ४० खेलाडी दर्ता गर्न पाउनेछ । त्यस्तै क्लबले थप दुई पदाधिकारी र डक्टर थप्न पाउनेछ । कोरोनाअघि ‘बी’ डिभिजनको ६६ मध्ये ३३ खेल सकिएको थियो । बाँकी खेलहरु पुरानै टाइसिट अनुसार नै हुने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले विधान संशोधनका लागि सोमबारै ‘ए’ डिभिजन क्लबसँग छलफल गरेको छ । एन्फा प्रवक्ता तथा विधान संशोधन मस्यौदा समितिका संयोजक किरण राईको अध्यक्षतामा भएको छलफलमा ए डिभिजन क्लबका पदाधिकारीसँगै एन्फाका महासचिव इन्द्रमान तुलाधर र कार्यकारी समितिका सदस्य मधुसुधन उपाध्याय समेत सहभागी थिए ।

यस्तै छलफलमा महिला रेफ्री संघ, खेलाडी संघ र प्रशिक्षक संघका पदाधिकारी समेत रहेका थिए । एन्फाले विधान संशोधनका लागि प्रदेश नम्वर १, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र प्रदेश नम्वर २ सँग छलफल गरिसकेको छ ।

प्रतिक्रिया