बेनी । उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पिपिआर रोगबाट पाँस सयभन्दा बढी च्यांग्रा मरेका छन् । लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्यांग्रामा पिपिआर रोगको समस्या देखिएको मुस्ताङसमेत कार्यक्षेत्र भएको बेनीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख नारायण कुसुमले दुई वटा पालिकामा पाँच सयभन्दा बढी च्यांग्रा मरेका जानकारी दिए ।
‘कात्तिकको दोस्रो हप्तादेखि महामारीका रूपमा फैलिएको पिपिआरले ठूलो क्षति पु¥याएको छ’, उनले भने, ‘कृषकबाट सात सयको संख्यामा च्यांग्रा मरेको जानकारी आए पनि स्थलगत अध्ययन र निरीक्षणका क्रममा पाँच सयभन्दा बढी मरेको पाइयो ।’
उनकाअनुसार मरेका च्यांग्राको स्वाब प्रयोगशालामा परीक्षण गर्दा पिपिआर रोग भएको पुष्टि भएको छ । समयमै सूचना नआउँदा रोग नियन्त्रणमा ढिलाइ भएको कुसुमले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मत्स्य तथा पशुपक्षी विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका तीन जना पशु चिकित्सकसहितको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा पुगेर रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरेर फर्किएका छन् ।
बुधबार बेनी फर्किएको टोलीले स्थानीयतह र पशु सेवा शाखासँग समन्वय गरेर भेडाच्यांग्रालाई पिपिआर रोगविरुद्ध खोप लगाएको जनाएको छ । बिरामी भेडाच्यांग्राको उपचारका साथै कृषकलाई पिपिआर रोग न्यूनीकरणका उपायबारे गोठमै पुगेर परामर्श दिइएको थियो । लोमान्थाङमा फैलिएको पिपिआर नियन्त्रणमा आइसकेको केन्द्रका प्रमुख कुसुमले बताए । दामोदरकुण्ड लोघेकरमा नियन्त्रण उन्मुख अवस्थामा छ । औषधि र खोपको व्यवस्थापन गरेर टोली फर्किएको हो । दसैँलगत्तै फैलिएको पिपिआरबाट अधिकांश कृषकले क्षति बेहोरेका समजुङका कृषक पासाङ छिरिङले बताए । ‘पाठापाठीदेखि वयस्कसम्म सबै उमेर समूहका धेरैजसो कृषकले पालेका च्यांग्रा मरेका छन्’, उनले भने, ‘एउटै च्याङ्ग्रा मर्दा २५ हजारको हाराहारीमा क्षति पुग्छ ।’ पाँच सय च्यांग्रा मर्दा १ करोड २५ लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्यांग्रापालन गरेका छन् । दसैँ, तिहार पर्वमा मुस्ताङका कृषकले पालेका च्यांग्रा कास्की, काठमाडौं, चितवन, म्याग्दी, बागलुङ, स्याङ्जा, तनहुँ, पर्वतलगायत जिल्लामा निकासी हुने गर्छ । हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका च्यांग्राको मासु स्वास्थ्यवद्र्धक र स्वादिलो हुने भएकाले दसँैतिहारमा महँगो परे पनि भेडाच्यांग्राको मासु उपभोग गर्ने चलन छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख सुधीर थापाका अनुसार गत दसैँतिहारको याममा मुस्ताङका कृषकले पालेका ६ हजार च्यांग्रा निकासी भएको थियो । ‘विगतका वर्षमा २५ देखि ३० हजार च्यांग्रा निकासी हुने गरेको थियो’, उनले भने, ‘यसपालि कोरोनाका कारण तिब्बत र अन्य जिल्लाबाट नआएकाले मुस्ताङका कृषकले पालेका मात्र निकासी भएको थियो ।’
प्रतिक्रिया