जंगली हात्तीका कारण स्थानीय त्रसित

झापा । जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ मा दैनिक छावासहित आउने जंगली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् । दिनभरि नजिकै रहेको आदर्श नमुना सामुदायिक वन क्षेत्रभित्र बस्ने र साँझ पर्ने बित्तिकै गाउँ पसेर किसानले लगाएको सागसब्जी कुल्चेर नष्ट गर्ने, घरभित्र थन्क्याएको अन्नसमेत खाइदिएको हुँदा उनीहरू ज्यान बचाउनु कि अन्न भन्ने कुराले त्रसित बनेका हुन् ।  ‘दैनिक कहिले दुई÷तीन वटा त कहिले बच्चासहित आउने जंगली हात्तीले हैरान पारिसके’, हात्ती मानव द्वन्द्व न्यूनीकरण समितिका सचिव सीताराम बास्तोलाले भने, ‘ज्यान जोगाउनु कि अन्न । बल्ल वर्षभरि खाने धान घर भित्र्याइएको छ, त्यो पनि हात्तीले ढिकुटी नै उधिनेर खान थाल्यो ।’ उनले हात्ती धपाउनका लागि डिभिजन वन कार्यालयसँग पटकपटक साइरनसहितको गाडी माग गरे पनि बेवास्ता गरेको आरोप लगाए ।

सचिव बास्तोलाले घरघर आउने हात्तीका कारण रातभर अनिँदो बस्ने गरेको बताए । हालसम्म थाल ठट्टाएर, होहल्ला गरेर र पुल्टो बालेर हात्ती धपाउँदै आएको उनको भनाइ छ । ‘खेतमा धान हुन्जेल भित्र्याउन नपाइएला भन्ने चिन्ता थियो’, उनले भने, ‘जसोतसो बचाएर घर त भित्र्याइयो, बच्चासहितको हात्ती सिधै घरतिरै आउन थालेपछि धानसँगै ज्यान जोगाउनै मुस्किल भयो ।’ डिभिजन वन कार्यालय झापाका फरेस्टर डिल्लीराम खरेलले बुद्धशान्ति गाउँपालिकाका कुनै पनि वडाबाट हात्तीले क्षति पु¥याएको गुनासो हालसम्म नआएको बताए । उनले गुनासो आएका र हात्ती भएका स्थानमा कार्यालयले साइरनसहितको गाडी पठाएर रातभर सुरक्षा दिँदै आएको बताए ।

उनका अनुसार जिल्लाका अन्य क्षेत्रभन्दा मेचीनगरको चारआली र भद्रपुर नगरपालिकाको पृथ्वीनगर क्षेत्रमा आठ वटा रैथाने हात्ती देखापरेकाले सो क्षेत्रमा साइरनसहितको गस्ती टोलीले दैनिक सुरक्षा प्रदान गरिरहेको छ । फरेस्टर खरेलले चालु आर्थिक वर्षको पाँच महिनामा जंगली हात्तीले अन्नबाली नष्ट गरेबापत राहतका लागि डिभिजन वन कार्यालय झापाको कार्यालयमा २ हजार ६ वटा निवेदन दर्ता भएको बताए । तीमध्ये साउनमा सबैभन्दा बढी ७६, भदौमा ५२, असोजमा ५७, कात्तिकमा २४ र मंसिरमा १६ वटा राहतका लागि किसानले निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया