काठमाडौं । कोरोना कहर सुरु भएपछि बन्द चलचित्रघर शुक्रबारदेखि सञ्चालनमा आउने भएका छन् । १० पुसदेखि हल सञ्चालन गर्ने घोषणा गरेका हल व्यवसायी त्यसको तयारीमा जुटेका छन् । उनीहरुले ठप्प चलचित्र क्षेत्रलाई चलायमान बनाउन र हल सञ्चालनका लागि सरकारसँग बारम्बार आग्रह गर्दै आएका थिए । चलचित्र संघले आगामी १० गतेबाट हल खोल्ने तयारी गरेसँगै चलचित्र क्षेत्र चलायमान हुने खुसी भन्दै छाएको छ । हल खुल्ने भएपछि अहिले निर्माता निर्देशक चलचित्र प्रदर्शनका लागि प्राविधिक कार्य पूरा गर्न लागेका छन् । हल सञ्चालनका लागि सरकारले अनुमति नदिएपछि १० पुसबाट हल सञ्चालन गर्ने यसअघि नै चलचित्र संघले घोषणा गरेको थियो । घोषणा हल व्यवसायीको छाता संगठन संघले चलचित्र क्षेत्रलाई विस्तारै चलायमान बनाउनका लागि हल सञ्चालन गर्न लागेको जनाएको छ ।
संघका अध्यक्ष मधुसुदन प्रधानले शुक्रबारबाट चलचित्र ‘आमा र ‘सेन्टी भाइरस’ प्रदर्शन गर्ने तयारी गरिएको बताए । यी चलचित्र हलमा प्रदर्शनमा आएलगत्तै कोरोना संक्रमण फैलने त्रासका कारण बन्दाबन्दी गरिएको थियो । लामो समयको बन्दाबन्दीले चलचित्र व्यवसाय चौपट भएपछि यी दुवै चलचित्र समस्यामा परेका थिए । संघका अध्यक्ष प्रधानका अनुसार यी चलचित्र प्रदर्शनमा भइरहेको बेला कोरोनाका कारण लगाइएको बन्दाबन्दीले हल बन्द हुन पुगेकाले अब शुक्रबारबाट तिनै चलचित्र चलाइएको हो । उनले भने, ‘सम्भवत चलचित्र आमा र सेन्टी भाइरस नै रिलिज हुन्छन् होला ।’ उनले देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हल सञ्चालन गर्न उत्साहित भएको बताउँदै भने, ‘नौ महिनादेखि बन्द रहेका हलहरुको सरसफाइमा हल व्यवसायीहरु लागेको छन् । अब विस्तारै चलचित्र क्षेत्रले गति लिने विश्वास लिएका छौं ।’
आफू हलमा चलचित्र हेर्नका लागि उत्साहित रहेको शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ का निर्देशक दिपेन्द्र के खनालले बताए । उनले जुन चलचित्र रिलिज हुँदाहुँदै हल कोरोनाका कारण बन्द भएको थियो, सोही चलचित्र रिलिज हुनु राम्रो भएको जिकिर गरे । उनले भने, ‘हल सुचारु गर्ने विषयमा चलचित्र विकास बोर्डमा केही समयअघि छलफल भएको थियो । म जुन चलचित्र रिलिज भएपनि शुक्रबार हलमा चलचित्र हेर्न जान्छु ।’
प्रतिक्रिया