विषालु सर्प पालनको काममा के गर्दै छ, झलनाथ खनाल प्रतिष्ठान ?

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले विषालु सर्प पाल्नका लागि खरीद गरेको जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ । विषालु सर्पपालनका लागि खरीद गरेको साढे आठ बिघा जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका निर्देशक उमेश बरालले किसानलाई जग्गा खाली गराउन अग्रिम सूचना दिइएकामा हाललाई रुख, बोटबिरुवा आदि हटाइएको भए पनि केही जग्गामा उखु बाली भएको र किसानको उखु कटानको चलानसमेत नआइपुगेको गुनासो आएपछि किसानको वर्षौंको मेहनतलाई मध्यनजर गर्दै खाली गर्न केही समय थप गरिएको बताए । केही दिनमा अर्को सूचना निकाली ठेक्काको प्रक्रिया र जमीन सम्याउने कामसमेत एक साथ अगाडि बढाइने उनले बताए ।

नेपालभित्र ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न नसकेको र सर्पदंशको उपचारमा पनि भारतसँग निर्भर हुनु परिरहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानले स्वदेशमै ल्याब स्थापना गर्न लागेको हो । एन्टी स्नेक भेनम उत्पादन तथा अनुसन्धान परियोजनाका लागि सङ्घीय, प्रदेश र लालबन्दी नगरपालिका गरी तीनवटै निकायसँग सम्झौता गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष एवं झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताइन ।

प्रतिष्ठानले बोलपत्र आह्वान गरेपछि दर्ता हुन आउने संस्थालाई प्रक्रिया मिलाएर स्वीकृति गर्नुपर्ने थप काम बाँकी रहेकाले क्रमागतरुपमा फागुनको पहिलो सातादेखि परिसरसहित अस्पताल भवन र अन्य संरचना निर्माणको काम अगाडि बढाइने अध्यक्ष पन्तले बताइन । उनका अनुसार दुई वर्षभित्र भवनलगायतका सबै संरचना बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्नेछ । यसरी उत्पादन गरिने विष शुरुमा भारतका ल्याबमा पठाइ ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाउने योजनामा आफू रहेको अध्यक्ष पन्तले बताइन ।

नेपालको विभिन्न भूभागबाट ल्याइने घोडा र सर्प संरक्षणका लागि प्रतिष्ठानले थप योजना ल्याउनेछ । ‘विश्व बजारमा माग उच्च रहेको उद्योग र अनुसन्धान केन्द्र नेपालमा सञ्चालन हुनु देशका लागि गौरवको कुरा हो ।’ स्थानीयस्तरमै सयौँको सङ्ख्यामा रोजगारीको अवसर सिर्जना हुनुका साथै लाखौँ मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष पन्तको विश्वास छ ।

विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा मात्र बर्सेनि दुई हजार ५०० भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । विषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । नेपालका सबै क्षेत्रका लागि आवश्यकतानुसार वार्षिक १० लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने विज्ञले बताएका छन् । हाल नेपालमा सर्पको विषविरुद्धको औषधि भारतबाट आयात हुन्छ । – रासस

प्रतिक्रिया