नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ का लागि संकलित घटनाहरूको वार्षिक पूर्वसमीक्षा कार्यक्रम सोमबार कालिकोटमा सम्पन्न भएको छ । इन्सेक कालिकोटको आयोजनामा सन् २०२० जनवरीदेखि हालसम्मका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको पूर्व कार्यक्रम भएको हो । इन्सेक नेपाल कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको अध्यक्षता, माननीय जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला सचिव नगेन्द्र शाही, नेसनल प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी प्रमुख चक्रबहादुर शाह, सशस्त्र प्रहरी प्रमुख रामबहादुर पाली बोगटी, अनुसन्धान प्रमुख लगायतका अतिथिहरूको सहभागिता थियो ।
इन्सेक जिल्लाप्रतिनिधि कालीबहादुर मल्लले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ का लागि तयार पारिएको प्रतिवेदनमा २०२० जनवरीदेखि हालसम्म गैरन्यायिक गिरफ्तार एक, धम्की कुटपिट पाँच, बालअधिकार, बाल यौन हिंसा आठ, महिला हिंसा दुव्र्यवहार २७ र जातीय विभेदका दुई मुद्दा रहेका बताएका छन् । गाउँ समाजमा हुने विभिन्न किसिमका अपराधजन्य घटनाहरू पैसामा मिलाउने गरेको सहभागीले जनाए । सम्बन्धित पीडितले न्याय पाउनका लागि कानुनको दायरामा गए पनि समाजका अगुवाहरूले, राजनीतिक पावर र पहुँचका आधारमा मेलमिलाप गराउन लगाउने भएकाले पनि समाजमा दिनप्रतिदिन यस्ताखाले घटनाहरू बढ्दै गएको र यसलाई न्यूनीकरण गर्न सबैले समुदायस्तरबाट नै सहयोग गर्न पर्ने माननीय जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले बताए ।
समाजमा हुने विभिन्न किसिमका हिंसाहरू रोकथाम तथा नियन्त्रणका लागि पनि स्वयं नागरिकले सक्षम हुनुपर्ने न्यायाधीश श्रेष्ठले बताए । जुनसुकै किसिमका हिंसा गर्ने र गराउनेलाई नेपालको कानुनबमोजिम हदैसम्मको कारबाही गरी पीडितलाई न्याय दिनु नै सक्षम नागरिकको दायित्व रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहले धेरै किसिमका घटनाहरू जिल्ला प्रहरी कार्यालयमा दर्ता भए पनि कतिपय मुद्दाहरू आन्तरिक सल्लाहअनुसार मिल्ने र पीडितले न्याय नपाउने अवस्था आउने गरेको बताए ।
समुदायस्तरमा हुने सानातिना घटनाहरू वडा स्तरमा भएका सामुदायिक मेलमिलापमा र पालिका स्तरका न्यायिक समितिले नै हेर्ने भएकाले अपराधजन्य घटनाका पीडितले न्याय पाउन सकेका छैनन् । महिला बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको सामाजिक सेवा केन्द्र सोसेक नेपाल कालिकोट प्रमुख संगीता वलीले मानवअधिकार उल्लंघनका घटनाहरूमा प्रायजसो महिला, बालबालिकालाई नै धेरै समस्या हुने गरेकोले सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया