पत्रकार गौतम पुरस्कृत

इलाम । ‘सातौँ मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । मानवअधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानवअधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको सो पुरस्कार बिहीबार गौतमलाई प्रदान गरिएको हो ।

७२औँ विश्व मानवअधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार गौतमलाई प्रमुखअतिथि प्रदेश–१ का भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर रानाले नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।
पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रदेशस्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानवअधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ ।

ताप्लुेजुङमा रहेर मानवअधिकारका क्षेत्रमा समेत कलम चलाउँदै आएका गौतम कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् । विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशील गौतम नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका संस्थापक सचिवसमेत हुन् ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, प्रहरी उपरिक्षक नविन राई, विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया