नेपोलीको रंगशालामा म्याराडोनाको नाम

इटाली । इटालियन सिरी ‘ए’ क्लब नेपोलीले घरेलु मैदान सान पाओलो स्टेडियमलाई डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा नामाकरण गरेको छ । नेपोलीले आफ्नो अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनालाई समर्पित गर्दै आफ्नो स्टेडियमको नामाकरण गरेको हो । नेपल्स नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आज एक प्रस्ताव स्वीकृत भएपछि रंगशाला डिएगो अर्मान्डो म्याराडोना नामाकरण गरिएको उल्लेख छ । म्याराडोनाको नोभेम्वर २५ मा ब्युनर्स आयर्समा हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो ।

नेपोलीका मालिक औरिलियो डी लौरेनिटसले म्यारोडोनाको निधनपछि एक खुल्ला पत्रमा रंगशालाको नाम बदल्ने प्रस्ताव नेपल्स नगरपालिकालाई गरेको थियो । यो प्रस्ताव मेयर लुइगी डे म्याजिस्ट्रिसले टोप्पनीमा एलेसान्द्रे क्लमेन्टका लागि काउन्सलरले प्रस्ताव गरेका थिए । नगरपालिकाको कार्यकारी समितिको बैठकले यो प्रस्तावलाई अनुमोदन गरेको हो ।
अब नयाँ नामाकरण भएको रंगशालामा नेपोलीले पहिलो खेलको रुपमा अर्काे साता युरोपा लिगमा रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्नेछ । खेलहरु क्लोज डोरमा भइरहँदा नेपोलीका समर्थकले मैदान बाहिर दिप प्रज्वलन गरेका थिए । यस्तै मैदान बाहिर ‘दि किङ’ ब्यानर ब्यानर प्रदर्शन गरेका थिए ।

म्याराडोनाले १९८४ देखि १९९१ सम्म अर्थात ७ वर्ष नेपोलीमा बिताएका थिए । उनी सन् १९८४ मा क्याटलान क्लब बार्सिलोनाबाट नेपोली आएका थिए । उनले नेपोलीलाई १९८७ र १९९० मा शीर्ष डिभिजनको लिग जिताएका थिए । १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप जिताएका थिए । उनले आफ्नो खेल करियरमा सबैभन्दा धेरै नेपोलीबाट १ सय ८८ खेल खेलेका थिए । उनले क्लबका लागि ८१ गोल समेत गरे । उनले अर्जेन्टिनाबाट चार पटक विश्वकपमा सहभागीता जनाए । उनको कप्तानीमा सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा अर्जेन्टिनाले उपाधि जितेको थियो ।

प्रतिक्रिया