धनगढीमा ड्युटीमा खटिएका दुई प्रहरीको हत्या गर्ने आठजना अभियुक्त जेल चलान

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको जुगेडास्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक र प्रहरी जवान हत्याको अभियोगमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली जेल चलान गरिएको छ ।

जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि पक्राउ परेकालाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका– १० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, गोपाल भन्ने रामगोपाल राना र रोहित राना रहेका छन् ।

गएको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रसनी गोविन्द विक र प्रज रामबहादुर साउदको हत्या गरिएको थियो ।

बेपत्ता प्रहरीको खोजी गर्दै जाँदा जुगेडा नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेको थियो । सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएको थियो ।

प्रतिक्रिया