क्यानद्वारा धमाधम नियुक्ति

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कर्मचारी र प्राविधिकहरु धमाधम नियुक्त गर्न थालेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु भइकन क्यानले सहायक प्रशिक्षक, फिटनेस ट्रेनर र न्युट्रिसनिस्ट नियुक्त गरिसकेको छ । क्यानले ज्ञानेन्द्र मल्ललाई क्रिकेट टिमको न्युट्रिसनिस्ट नियुक्त गरेको आइतबार जनाएको छ । गएको बिहीबारदेखि नै लागू हुने गरी उनलाई नियुक्त गरेको र उनी बन्द प्रशिक्षणमा रहेका खेलाडीसँगै रहने क्यानले उल्लेख गरेको छ ।

यसअघि क्यानले फिटनेस ट्रेनरका रुपमा भारतका आशय हट्करलाई नियुक्त गरेको छ । त्यस्तै सहायक प्रशिक्षकको जिम्मेवारी पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवाललाई दिइएको छ । खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा नै प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिएको थियो । फिजियो विक्रम न्यौपानेले टीम व्यवस्थापकको भूमिका पनि निर्वाह गरिरहेका छन् ।

क्यानले मुख्य प्रशिक्षक, जनरल म्यानेजर, चीफ फाइनान्स अफिसर र सातै प्रदेशका प्रशिक्षकको नियुक्ति प्रक्रिया पनि अगाडि बढाएको छ । मुख्य प्रशिक्षको नियुक्ति मंसीर दोस्रो साता नै हुने क्यानले जनाएको थियो । क्यानले मुख्य प्रशिक्षकका निवेदकहरुमध्ये १२ जनाको अन्तरवार्ता लिइसकेको जनाएको छ । नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र अष्ट्रेलियाका डेभिड ह्वाटमोरले पनि अन्तरवार्ता दिएको बताइएको छ ।

क्यानले जनरल म्यानेजरका लागि सात जना र फाइनान्स अफिसरका लागि तीन जनाको अन्तरवार्ता पनि लिइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को रोहबरमा उनीहरुको अन्तरवार्ता लिइएको हो । अन्तरवार्ता लिइएकाको नाम सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया