नेपाल–भारत : नयाँ सम्बन्धको खोजी

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नक्सा जारी गरेपछि चिसिएको नेपाल–भारत सम्वन्धको नयाँ डोरी खोजिन थालेको छ । पछिल्ला केही दिनमा भारतबाट आएका उच्च अधिकारीहरुले नेपालसँगको बिग्रिएको सम्बन्धको सुधारको प्रयास गरिरहेका हुन् । विहिवार नेपाल आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारतको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने कुरा गर्ने स्पष्ट पारेका छन् । परराष्ट्र सचिवस्तरको वार्तामा पनि दुई देशबीच रहेका समस्याका विषयमा छलफल भएको थियो । विशेषगरी भारतसँग कालापानी र सुस्ता क्षेत्रमा सीमाको ठूलो विवाद रहेको छ । यो विषयमा आधिकारिक रुपमा दुई देशका अधिकारीबीच वार्ता नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश पठाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल र भारतले कूटनीतिक वार्ताकै माध्यमबाट सीमालगायतका सम्पूर्ण समस्याको समाधान गरेर जान सक्ने बताएका हुन् । वार्ता नै मुख्य विषय भएकाले यो चाडै बस्ने वातावरण बनाउन भारतसँग आग्रह गरेका हुन् । ‘उहाँ (प्रधानमन्त्री ओली)ले नेपाल र भारतका बीचमा समाधान गर्न सकिने विषयहरु रहेको बताउनु भयो । हामी बस्यौं भने वार्ताकै माध्यमद्वारा यी विषयहरुलाई समाधान गरेर जान सक्छौं । यो विश्वास हाम्रो बीचमा रहेको छ,’ प्रधानमन्त्री ओलीलाई उदृत गर्दै परराष्ट्र सल्लाहकार राजन भट्टराईले भेटवार्तापछि भने ।

प्रधानमन्त्री ओलीलाई उदृत गर्दै भट्टराईले थपे,‘मैले (ओली) प्रधानमन्त्री मोदीजीसँग पनि यही कुरा भनेको छु । इतिहासले छोडेका कतिपय समस्याहरु छन् । ती छोडेका सीमालगायतका समस्याहरुलाई पनि हामी वार्ता गरेर टुंग्याएर अगाडि जान सक्छौं भन्ने हाम्रो विश्वास र मान्यता हो ।’ भेटमा प्रधानमन्त्री ओलीलाई सुरुवातमा सचिव श्रृंगलाले भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देश सुनाएका थिए । मोदीले ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए । ‘साथै, मोदीजीले नेपाल–भारत सम्बन्धलाई अब नयाँ हिसाबले अगाडि बढाएर लानु पर्छ भन्ने सन्देश पठाउनु भएको रहेछ । त्यो सन्देश पनि सचिवजीले दिनु भयो,’ भट्टराईले भने ।

भेटमा बसेका भट्टराईका अनुसार विदेश सचिव श्रृंगलाले त्यसपछि बिहीबारै भएको विदेश सचिवस्तरमा नेपाल–भारत सम्बन्धका बारे समग्र पक्षलाई आफूहरुले छलफल गरेको प्रधानमन्त्री ओलीलाई बताएका थिए । प्रधानमन्त्री ओलीले सचिव श्रृंगलालाई नेपाल भारतसँगको सम्बन्धलाई अगाडि बढाउन चाहेको बताएका थिए । प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टचार भेटवार्ता गरेका छन् ।

त्यसअघि सचिव श्रंगलाले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग भेटवार्ता गरी आपसी सम्वन्धका बारेमा चर्चा गरेका थिए । भेटमा भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई प्रदान गर्न तयार रहेको जानकारी श्रृंगलालेबताएका थिए । उनले भने, ‘जब भ्याक्सिन तयार हुन्छ, नेपालको आवश्यकता हाम्रो लागि एक प्राथमिकता हुनेछ ।’ उनले कोरोनाको सम्बन्धमा नेपाल र भारतको बीचमा अझ नजिकको सहकार्य गर्नुपर्नेमा जोड दिए ।

सचिव श्रृंगलाले विगतदेखि अहिलेसम्म कोभिड–१९ लाई नियन्त्रण गर्न विभिन्न सहयोग गरेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्न भारत तयार रहेको बताएका थिए । उनले भने, ‘हामीले कोभिडको खोपको सम्बन्धमा अहिलेसम्म भएका प्रगतीहरुको बारेमा छलफल गयौं ।’ दुई दिने नेपाल भ्रमणमा आएका उनि भोली विभिन्न कार्यक्रममा भर्चुअल रुपमा सहभागिता जनाएर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया