सगरमाथाको उचाइ बढ्यो !

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । नेपालले आफ्नै स्रोत र साधनको उपयोग गरेर पहिलोपटक उचाइ नाप्दा पहिलाको भन्दा बढेको हो । सर्वे अफ इन्डियाले सन् १९५४ मा उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर भएको देखिएपछि त्यसैलाई आधिकारिक मानिएको थियो । नेपालले सन् २०१७ को डिसेम्बरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी गरेपछि उचाइ नाप्ने काम अगाडि बढाएको हो । समुद्री सतहबाट सगरमाथाको उचाइ मापन, सगरमाथा देखिने १२ वटा बिन्दुबाट हिमाल अवलोकन र जिपिएस एवं् गुरुत्वाकर्षण सर्वे गरेर तथ्यांक संकलन गरिसकेको थियो । त्यसबाहेक दुई जना नापी विभागका अधिकारीहरूले सन् २०१९ को वसन्तयाममा सगरमाथाको आरोहण पनि गरेका थिए ।

उचाइ नाप्नेसम्बन्धी सबै काम सम्पन्न भएपछि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घोषणा गर्ने अनुमति मन्त्रिपरिषद्मा माग गरेको थियो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न अनुमति दिएको छ । योसँगै मन्त्रालयले अब आधिकारिक उचाइ सार्वजनिक गर्नेछ । स्रोतका अनुसार सगरमाथाको उचाइ पहिलाको भन्दा केही बढेको छ । ‘अहिले ठ्याक्कै नै यत्ति नै बढ्यो भनेर भन्न मिल्दैन’, मन्त्रालय स्रोतले भन्यो, ‘तपाईं यत्ति बुझ्नुहोस्, पहिलाको भन्दा उचाइ बढेको छ ।’

भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति स्वीकृति प्रदान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेकी थिइन् । आव ०७५÷७६ बाट सुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन् । ‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाइ मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आपैmँले नापेको सगरमाथाको उचाइ औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ’, उनले भनिन् ।

स्रोतका अनुसार चीनका रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा दुई देशले संयुक्त रूपमा उचाइ घोषणा गर्ने तयारी गरेका छन् । चीनले स्थानीय भाषामा चोमोेलोङमा भनेर चिनिने सगरमाथाको उचाइ केही समय अगाडि मापन गरेको थियो । यसअघि दुवै देशले संयुक्त रूपमा उचाइ घोषणा गर्ने जनाएका थिए ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

प्रतिक्रिया