गोजुरियो करातेमा नेपाललाई तीन स्वर्ण

काठमाडौं । पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको ओपन २०२० वल्र्ड वाइड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र २ कास्य गरी १० पदक हात पार्न सफल भएको छ । नेपाली खेलाडी सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले नेपालका लागि स्वर्ण दिलाएका हुन् । महिला १४ देखि १८ वर्ष एड्भान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाइनलमा पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा निर्णायक तथा प्रशिक्षक रवि शाहीले जानकारी गराएका छन् ।

सुविता गौतमले नेपालकै जुलियाना मोक्तानलाई रजतमा खुम्चाउँदै स्वर्ण हात पारिन् । गौतमले १० वर्षमुनि इन्टरमिडियट विधामा उक्त पदक प्राप्त गरेकी थिइन् । नेपालका लागि स्वर्ण जित्ने क्रममा अर्की खेलाडी अनुभाले ११ देखि १४ वर्ष इन्टरमिडियट विधामा नेपालकै नान्सी क्षेत्रीलाई पराजित गर्दै स्वर्ण पोल्टामा हालिन् ।

१० दिनअगाडि मात्र क्यानडा कराते संघको आयोजनमा भएको सातो कप इन्टरनेसनल २०२० मा नेपालका लागि स्वर्ण दिलाएका प्रशिक्षक एवं खेलाडी रवीन्द्र मानन्धर भने रजतमै खुम्चन बाध्य भए । मानन्धर पुरुष ४५ वर्ष एड्भान्स विधामा मोरोक्कोका अजिर कायरसँग पराजित हुँदै रजतमा खुम्चन बाध्य भए ।

यस्तै २२ देखि ४५ महिला एड्भान्स विधामा रिना श्रेष्ठ इटालीकी इलियोनोभा कोलेट्टो सँग पराजित हुँदै रजतमै चित्त बुझाउन बाध्य भइन् । सातो कपमा नै स्वर्ण दिलाउन सफल नेपाली अर्की खेलाडी नीता आचार्य पनि रजतमा खुम्चिइन् । १९ देखि २१ वर्षको गर्ल्स एड्भान्स विधामा आचार्य इटालीकी सारा लंगोसँग पराजित भएकी थिइन् ।

सत्कार घती मगर र राजकुमार श्रेष्ठ भने कास्य पदकभन्दा माथि पुग्न सकेनन् । मगर १० वर्षमुनि ब्वाइज एड्भान्समा र राजकुमार २२ देखि ४५ वर्ष एड्‍भानसमा पराजित हुँदै कास्यमा सीमित भएका हुन् । २० देखि २१ नोभेम्बरसम्म सञ्‍चालित च्याम्पियनसिपमा नेपालसहित १६ राष्ट्रका २५० खेलाडीहरुले आफ्नो कौशलता अनलाइनमार्फत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया