शुक्लागण्डकी नगरप्रमुखलाई कोरोना देखिएपछि सेवा बन्द

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख गुरुङलाई मङ्गलबार कोरोना पुष्टि भएपछि नगरपालिकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार बुधबारदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । ‘नगरपालिकामा कार्यरत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तीन दिन सेवा बन्द गर्ने निर्णय भएको छ’, सुवेदीले भने ।

यसैबीच नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले गत वर्षदेखि हरिबोधिनी एकादशीको दिनमा सार्वजनिक बिदा दिन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उक्त दिन नगरपालिकाअन्तर्गतका कार्यालय र विद्यालय बन्द रहने जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणका कारण एकादशीको अवसरमा कतै पनि मेला लाग्ने अवस्था नरहे पनि नगरले यस वर्ष पनि बिदा दिने निर्णय गरेको हो । गत वर्षसम्म नगरपालिकाको केन्द्रमा अवस्थित दुलेगौँडा पुल्चोकस्थित सेती नदी किनारमा फूलको तोरण तार्ने र स्नान गर्न आउने श्रद्धालु भक्तजनको विशेष ओइरो लाग्दथ्यो । मोक्ष प्राप्तिको आस्थाले छिमेकी जिल्ला स्याङ्जा र कास्कीका विभिन्न स्थानबाट पनि भक्तजन यहाँ आउने गर्दथे ।

उत्कृष्ट उद्यमी सम्मानित
घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौँ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो । औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका–२ स्थित दीपेन्द्र सुज सेन्टर, बन्दीपुर गाउँपालिका–५ स्थित तिवारी फर्निचर उद्योग, व्यास नगरपालिका–१ स्थित पुष्प होजियारी स्वीटर उद्योग र व्यास नगरपालिका–५ स्थित सुवोध फुड्स सम्मानित भएका छन् ।

जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेलले सफल उद्यमीलाई सम्मानपत्र प्रदान गरिन । सो अवसरमा पौडेलले सरकारले औद्योगिक विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले औद्योगिक विकासका लागि राम्रो वातावरण सिर्जना गर्न हरेक क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने बताए । घरेलु कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले स्थानीयस्तरमा रोजगारी प्राप्त गराउन कार्यालयले सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको बताए ।

सरकारले औद्योगिक प्रवद्र्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मङ्सिर ९ गते उद्योग दिवस मनाउने निर्णय गरेको थियो । मङ्सिर ९ गते उद्योग परिषद् स्थापना भएको उक्त दिनलाई उद्योग दिवसका रुपमा मनाउन लागिएको हो । – रासस

प्रतिक्रिया