खोजखबर

नामै वनमाया…

मीना घोरसाइने २०७७ मंसिर ९ गते ७:४२ मा प्रकाशित

चितवनकी एउटी सामान्य चेपाङ समुदायकी महिला । त्यसमाथि लेखपढ नगरेकी । पर्यावरणमा नै असर हुने गरी विगत एक दशकअघि रित्तिँदै गएको वनको संरक्षणमा जुटेकी उनका लागि त्यो समय कम चुनौतीपूर्ण थिएन । समाजको त कुरै छाडौँ । परिवारले पनि सुरुआतमा उनकोे क्रियाशीलता रुचाएको थिएन् । यो संघर्षको कथा हो, राप्ती नगरपालिका–१० कोराककी ५१ वर्षीय वनमाया चेपाङको । ०५४ सालतिर कोराकमा सामुदायिक वन गठन गर्ने कुरा चलिरहेको थियो । ०५० सालदेखि सामाजिक काममा सहभागी बन्दै आएकी उनले पनि त्यहाँको सत्यदेवी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा महत्वपूर्ण योगदान दिएकी छन् ।

चोरीबाट नासिँदै गएको त्यहाँको सरकारी वनलाई सामुदायिक वनका रूपमा संरक्षण गर्नुपर्छ भन्ने त्यहाँका जनतामा एकरूपता आइसकेपछि सत्यदेवी सामुदायिक वनका रूपमा हस्तान्तरण गर्न उनी लगायतले दुई वर्षसम्म कडा संघर्ष गर्नुपरेको थियो । आफ्नो निजी खर्चमा जिल्ला वन कार्यालय धाउने गरेको दिनको अनुभूति उनकोे मानसपटमा ताजै छ ।
‘कहिले भाडा जुटाउन कुखुराको भाले बेचेर त कहिले बाख्रा बेचेर रकम जुटाउने गरिन्थ्यो,’ उनी भन्छिन्, ‘नेपाली समुदायमा जातित्वका आधारमा विभेद त छ नै त्यसमाथि पनि महिला भएकै कारण यसले के गर्न सक्छ र भन्ने मानसिकताले हामीलाई दबाउन खोजिन्थ्यो ।’ ०५६ सालमा उक्त सामुदायिक वन समुदायलाई हस्तान्तरण गरिसकेपछि बनेको ११ सदस्यीय समितिमा उनले कोषाध्यक्ष भएर आफ्नो भूमिका निर्वाह गरिन् ।

सुरुआतमा वनको क्षेत्र निर्धारणका विषयमा जानकार नभएका त्यहाँका स्थानीयवासीले गाउँको सीमाका आधारमा वनको क्षेत्र निर्धारण गरेको थियो । उनकोे तीन वर्षे कार्यकालले विशेष गरी काठ तस्करी रोक्न महत्वपूर्ण योगदान दिएको थियो । आदिवासीको प्रमुख बाहुल्यता रहेको उक्त क्षेत्रमा महिलाको तर्फबाट उनी नेतृत्वमा आइसकेपछि अन्य महिला पनि वन संरक्षणमा एकजुट हुन थालेका थिए ।

वनका काठदाउरा चोरी तस्करी नियन्त्रण गर्न उक्त समय पुरुष र महिलाको छुट्टाछुट्टै समूह बनाएर हप्ताको एकपटक गस्ती जाने नियम बनाइएको थियो । सो समयको स्मरण गर्दै उनी भन्छिन्, ‘महिलाको पालो भएको दिन वनको अनुगमन नगरी हल्ला मात्र गरेर आउँछन् भनेर गाउँका पुरुषले हामीलाई होच्याउने गर्थे, तर हामीहरू भने क्रियाशीलरूपमा दुई÷तीन जना महिलाको पुनः छुट्टाछुट्टै समूह बनाएर गस्ती गथ्र्यौं ।’

गस्तीका क्रममा तस्करसँग मुठभेट हुँदा एकदिन उहाँमाथि आक्रमणसमेत भयो । आक्रमणबाट उनको दाहिने हात र दाहिने खुट्टामा गहिरो चोट लागेको थियो । आक्रमणपछि वन संरक्षणमा थप ऊर्जा मिलेको उनी बताउँछिन् । गस्तीका क्रममा धेरै तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा समेत ल्याइएको थियो ।  त्यसपछि भएको वनको अर्को साधारणसभाले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । उपाध्यक्षमा नियुक्त भइसकेपछि उनलाई सामुदायिक वन जिल्ला महासंघमा जाने बाटो खुलेको यियो । जिल्लाको नेतृत्वमा जाने क्रममा उनले थुपै्र चुनौतीको समेत सामना गरिन् । जिल्लामा जाने प्रस्ताव राख्दा महिला भएकै कारण नेतृत्व गर्न नसक्ने भन्दै उनकोे प्रस्ताव अस्वीकार गरिएको थियो तर जिल्लामा गएर काम गर्न सक्छु भन्ने उनमो आँट थियो ।

जिल्लामा गइसकेपछि पनि उनलाई कोषाध्यक्ष बनाउनुपर्ने प्रस्ताव आयो तर उनकोे पढाइ नभएका कारण त्यो पदमा उनकोे योग्यता नपुन्ने भन्दै अन्य महिला दाबेदारले विरोध जनाएका थिए तर महिला भएर महिलाकै विरोध गर्न नहुने भनाइ उनले राखेपछि कोषाध्यक्षमा नियुक्त गरिएको थियो । जिल्लाको कोषाध्यक्षमा उनने तीन वर्ष बिताइन् ।

जिल्लामा पनि नेतृत्वका क्रममा जातित्वका आधारमा उनलाई धेरै विभेद गरियो । जिल्लाको महत्वपूर्ण बैठकमा समेत उनलाई बोलाइँदैनथ्यो । जति नै विभेद भए पनि आफू सधैँ काममा तत्पर भएर लागेको उनको ठहर छ । ०६३ मंसिरमा हुन लागेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालको अधिवेशनले जिल्लाका प्रतिनिधि पनि पठाउन अनुरोध गरिएको रहेछ । कसलाई प्रतिनिधि पढाउने भन्ने विषयमा जिल्लामा बैठक भइसक्दासमेत उनले खबर पाइनन् ।

विभिन्न व्यक्तिमार्फत जानकारी पाइसकेपछि उनले जिल्लामा फोन गरेर आक्रोश व्यक्त गर्दै भनिन्, ‘के तपाईंले चेपाङ महिला भनेर हेप्नुभएको हो ?’ जातित्वको आधारमा भेदभाव गरेको नभई टाढा भएका कारण खबर नगरेको प्रतिउत्तर उताबाट आएको थियो । टेलिफोन वार्ताकै क्रममा बैठकबाट उनलाई प्रतिउत्तरको विरोध गर्दै जसरी पनि आफूलाई केन्द्रीय समितिको अधिवेशनमा पठाउनुपर्ने माग गरिन् । त्यसपछि उनलाई केन्द्रीय समितिको अधिवेशनका लागि सिफारिस गरिएको उनले बताइन् । काठमाडौंमा भएको अधिवेशनले उनलाई केन्द्रीय सदस्यका रूपमा मनोनीत ग¥यो । हालसम्म पनि उनी महासंघको केन्द्रीय सदस्य छिन् ।

यतिलामो संघर्षको क्रममा उनले सामाजिक मात्र नभई पारिवारिकरूपमा पनि थुप्रै समस्या झेलिन् । दुई छोरा र एक छोरी सानै भएकाले सामाजिक कामको लागि एकातिर समस्या त थियो नै अर्कोतिर उनको बुबाले पतिलाई महिला घरभन्दा बाहिर गए भने बिग्रन्छन् भनेर भड्काएपछि मानसिक मात्र नभई शारीरिक यातनासमेत खेप्नुप¥यो । त्यस्तै विभिन्न बैठकमा गएर आइसकेपछि चेपाङका पतिले उनले बनाएको खानासमेत नखाने, बनाएको गुन्द्री जलाइदिने, गरेको कामसमेत बिगारिदिने गर्थे तर उनकोे क्रियाशीलताले समाजमा इज्जत बढ्दै गएपछि आज उनकोे पति स्वयं क्रियाशील हुन आग्रह गर्छन् ।

चेपाङ बालबालिकाले पढ्न नपाएको समयमा वनको क्रियाशीलतासँगै मेलापात र जाँडरक्सी बेचेर नै तीन सन्तानलाई पढाएकी छन् । उनले छोराछोरीलाई पढाउन थालेसँगै त्यहाँका अन्य व्यक्तिले पनि पढाउन सुरु गरे । वनको संरक्षणमा लाग्ने क्रममा नै उनले तीन दिन प्रौढशिक्षा पढ्नि । त्यही तीन दिनको पढाइले नै आज उनी नेपाली भाषा सामान्य लेखपढ गर्छिन् । त्यही पढाइले जिल्ला वन कार्यालयमा जागिरको अवसरसमेत पाइन् । लिखित र अन्तर्वार्तामा समेत पहिलो नम्बरमा नाम निकाल्न सफल उनलाई छोराछोरी छोडेर जागिर खान पतिले पठाउन मानेका थिएनन् । सो घटनाले उनी मानसिकरूपमा विक्षिप्त भइन् । फलस्वरूपः तीन दिनसम्म उनी बेहोस भइन् ।

उनी भन्छिन्, ‘सायद त्यतिबेला जागिर खान पाएको भए म प्रशासनिकरूपमा पनि धेरै माथि पुगिसक्ने थिएँ ।’ जे जस्तो भए पनि आफूले गरेको सामाजिक कामबाट आफू निकै सन्तुष्ट रहेको उनी बताउँछिन् । आज वनमायाकै नामबाट उनकोे परिवार मात्र नभई सिंगो कोराकलाई नै चिनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय