कोभिड–१९ परीक्षण : प्रयोगशालाको रिपोर्टमा शंकैशंका

काठमाडौं । नेपालका निजी प्रयोगशालाले कोभिड–१९ को परीक्षणका लागि स्वाब संकलन गरेर दिएको रिपोर्टमाथी शंकैशंका उब्जिन थालेको छ । स्वदेशमा मात्र नभई अन्तराष्ट्रियस्तरमा समेत प्रश्न उब्जिन थालेको हो । नेपाली प्रयोगशालामा नेगेटिभ आएको ७२ घण्टाभित्रै विदेशमा गरिएको परीक्षणमा पोजेटिभ आएपछि अनुसन्धानको घेरामा तानिएका हुन् ।  हङकङ पुगेको नेपाल एयरलाइन्सको विमान कोरोना पोजेटिभ भएको व्यक्ति बोकेर तीन पटक पुगेपछि यसको रहस्य खुलेको हो । अक्टोबर २ मा ५ जना र १९ अक्टोबरमा पुगेका थप ९ जनामा कोरोना संक्रमण देखिएपछि प्रतिबन्ध लगाएको थियो । तेस्रो पटक लिएर गएका यात्रुमा पनि कोरोना संक्रमण देखिएपछि अन्तिम पटक लागेको प्रतिबन्ध भने अहिले पनि जारी रहेको छ । निजी परीक्षण प्रयोगशालाको रिपोर्टमा समस्या देखिएपछि निगमले अब सरकारी प्रयोगशालाबाट प्राप्त रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको भन्दै कारवाहीका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ । हङकङमात्र नभएर युएई र जापानको नारिता गएका यात्रुमा पनि कोरोना संक्रमण देखिएको छ । जसले गर्दा नेपालको रिपोर्टको विश्वसनीयतामै अन्तराष्ट्रियस्तरबाट प्रश्न उठ्न थालेको छ ।

निगमकै काठमाडौं–दुबई नियमित उडानमार्फत युएई पुगेका यात्रुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत कात्तिक २८ गते दुबई पुगेका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी नेपालमा नेगेटिभ रिपोर्ट आउने र विदेशमा हुने परीक्षणमा भने पोजेटिभ रिपोर्ट आएपछि निगमलाई युएईको डाइरेक्टर जनरल अफ सिभिल एभिएसनले ध्यानाकर्षण गराएको छ । युएईको उजुरीको आधारमा नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आइकाओ)ले समेत स्पष्टीकरण सोध्ने तयारी गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

निगमको काठमाडौं–नारिता उडानमार्फत जाने हरेक उडानमा २ देखि १० जनामा कोरोना पोजेटिभ देखिने गरेको छ । ‘नेपालभित्र हुने गरेको कोभिड–१९ परीक्षणको विश्वसनियतामा प्रश्न उठ्न सक्ने र फलस्वरुप राष्ट्रिय छवि समेत धुमिल हुन सक्ने तथा नियमित उडानहरुमा समेत असर पर्न सक्ने…’पत्रमा भनिएको छ । उच्चस्रोतले उपलब्ध गराएको विवरणअनुसार १३ जनाको रिपोर्ट मध्ये १० जना स्टार अस्पतालबाट लिएको रिपोर्ट लिएर पुगेका थिए । यसैगरी, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सुरिया हेल्थकेयर र ह्याम्स अस्पतालको रिपोर्ट छ ।

पर्यटन मन्त्रालयको पत्रपछि स्वास्थ्य मन्त्रालयले छानविनको तयारी अगाडी बढाएको छ । पर्यटन मन्त्रालयले तपसिलमा भन्दै भनेको छ, ‘विभिन्न प्रयोगशालाहरुले स्वाब संकलन नै नगरी नक्कली रिपोर्ट दिने गरेको सम्बन्धमा, स्वाब संकलन पश्चात पनि रिपोर्ट म्यानिपुलेशनगरी पोजिटिभ रिपोर्ट दिने गरेको, स्वाब संकलन पश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा सो गरे÷नगरेको र थप विश्वसनीय बनाउने सम्बन्धमा ।’ मन्त्रालयले स्वाब नै संकलन नगरी रिपोर्ट दिने गरेको भन्ने आशंका समेत पत्रमा व्यक्त गरेको छ ।

यता, निजी अस्पतालले भने आफुहरुको रिपोर्टमा कुनै खरावी नभएको दावी गरेका छन् । उनिहरुले स्वाब संकलन गरेपछि ति व्यक्तिहरुमा कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरेका छन् । स्वाब दिएपछि किनमेल गर्न जाँदा संक्रमण सरेको हुनसक्ने उनिहरुको भनाई छ । काठमाडौंमा मात्रै २४ भन्दा बढि निजी प्रयोगशाला रहेका छन् । उनिहरुले सरकारले तोकेको भन्दा बढि रकम असुल गर्दै कोरोना परीक्षणका लागि स्वाब संकलन गरी रिपोर्ट दिने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा छानविन समिति गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नक्कली पीसीआर रिपोर्ट प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा. मुकुन्द शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण, महाशाखा, टेकुका डा. अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ल्याब विज्ञ बलराम गौतम सदस्य रहेका छन् । मन्त्रालयले समितिलाई २४ घण्टाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार छानबिन समितिलाई २४ घण्टाभित्र सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ जानकारी दिए । छानबिन समिति सदस्य गौतम निजी क्षेत्रबाट सञ्चालिन डिकोड ल्याबमासमेत आवद्ध छन् ।

प्रतिक्रिया