तिहारमा तीन दिनसम्म बैंक नखुल्ने

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैंकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो । संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताए ।

‘हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा संक्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौँ’, उनले भने । हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएको भन्दै यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरेको बताएका छन् ।

संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ । गत वर्ष दशैँ तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया