कांग्रेसमा पारिवारिक विरासतको लडाइँ

              विन्दुकान्त घिमिरे

संस्थापन पक्षमा पनि देउवा निर्विकल्प हुने संभावना क्षीण भएको छ । दुवै पक्षमा विकल्पका रूपमा पारिवारिक विरासत बोकेका नेताहरू नै अगाडि आएका छन् । नेपाली कांग्रेसको सात दशकभन्दा लामो यात्रामा पारिवारिक विरासत बोकेका नेताहरू सभापति पदका लागि प्रतिस्पर्धामा नउत्रेको गत १३औँ महाधिवेशनमा मात्रै हो । सामान्य किसानका छोरा देउवा र पौडेलबीच गत महाधिवेशनमा प्रतिस्पर्धा भएको थियो ।

निर्धारित मिति (आगामी फागुन ७–१०) मा नेपाली कांग्रेसको महाधिवेशन हुने संभावना करिबकरिब समाप्त भएको छ । स्थानीय तहका उल्लेख्य कार्यकर्ता कोरोना संक्रमित भएका कारण क्रियाशील सदस्यता वितरणको काम अनिश्चित कालका लागि स्थगित भएको छ । ०७८ भदौ २० भित्र कुनै पनि हालतमा १४औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक वाध्यता नेपाली कांग्रेसमा छ । महाधिवेशनको मिति अनिश्चित भए पनि सभापति पदका संभावित उम्मेदवारहरूको विषयमा जोडघटाउ सुरु भएको छ । गत महाधिवेशनमा प्रतिस्पर्धाका उत्रेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल यसपटक निर्विकल्प देखिएका छैनन् ।

इतर पक्षमा नेता पौडेलको विकल्प खोजिने संभावना भए पनि संस्थापन पक्षमा भने देउवा निर्विकल्प रहेको अनुमान केही समय अघिसम्म राजनीतिक विश्लेषकहरूले गरेका थिए । तर, संस्थापन पक्षमा पनि देउवा निर्विकल्प हुने संभावना क्षीण भएको छ । दुवै पक्षमा विकल्पका रूपमा पारिवारिक विरासत बोकेका नेताहरू नै अगाडि आएका छन् ।

नेपाली कांग्रेसको सात दशकभन्दा लामो यात्रामा पारिवारिक विरासत बोकेका नेताहरू सभापति पदका लागि प्रतिस्पर्धामा नउत्रेको गत १३औँ महाधिबशेनमा मात्रै हो । सामान्य किसानका छोरा देउवा र पौडेलवीच गत महाधिबशेनमा प्रतिस्पर्धा भएको थियो । १४औँ महाधिवेशनमा भने देउवाको विकल्पमा विमलेन्द्र निधि अघि सरेका छन् ।

निधिको विरासत

निधि तीन पुस्ते विरासत बोकेका नेता हुन् । उनका हजुरबुबा राजेश्वर निधि भारतीय स्वतन्त्रतता संग्रामका हस्ती हुन् । महात्मा गन्धीले आरम्भ गरेको दाँडी मार्च अभियानको आरम्भमा सामेल ७९ जनामध्ये दुई जना नेपाली थिए ।

राजेश्वर निधि जनकपुरकै एक जना गिरिलाई लिएर त्यो अभियानमा सामेल भएका थिए । राजेश्वर निधिका छोरा महेन्द्रनारायण निधि ०७ सालको जनक्रान्तिका मुख्य योद्धामध्येका हुन् । उनी नेपाली कांग्रेसको महामन्त्रीसम्म भए । विमलेन्द्र निधि तेस्रो पुस्ताका हुन् ।

यसैगरी संस्थापन इतरपक्षमा प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला पौडलको विकल्पका रूपमा खडा भएका छन् । यी तीनै जना तीनपुस्ते विरासत बोकेका नेता हुन् ।

सिंहको विरासत

प्रकाशमान सिंहका जिजुबाजे रत्नमान सिंहले राणाकालमै काजीको जिम्मेवारी पाएका थिए । राणाकालमा सर्वसाधारण जनताको तर्फबाट श्रीपेच लगाउने पदमा पुग्नेमा रत्नमान पहिला थिए । यसै गरी उनका पिता गणेशमान सिंहले राणाशासनविरुद्ध विद्रोहमा उत्रेर सनसनी मच्चाए ।

एक हिसाबले आफ्नै बाजेको विरोधमा उत्रनुजस्तै थियो गणेशमानको उक्त कदम । अर्थात बाजेको शीरमा श्रपेच थियो तर उनकै काखमा हुर्केका नाती सत्ताको विद्रोहमा थिए । गणेशमान सिंह ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर हुन् । ०४६ सालको जनआन्दोलन समाप्तीपछि उनले आफूलाई प्राप्त प्रधानमन्त्री पद त्याग गरे । नेपाली कांग्रेसको राजनीतिमा बिपी कोइरालापछिको दोस्रो स्थान गणेशमानको छ ।

कोइरालाहरूको विरासत

महान समाजसुधारक अभियन्ता कृष्णप्रसाद कोइरालाको निधन राणाहरूको जेलभित्रै भोकहड्तालका क्रममा भएको हो । उनका पाँच भाइ छोरामध्ये, जेठा मातृका ०७ सालको जनक्रान्तिका मुख्य कमान्डर हुन् । उनी राणाहरूपछि नेपालको पहिलो प्रधानमन्त्री बने । माहिला बिपी नेपाली कांग्रेसको संस्थापक सभापति हुन् ।

उनी मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । कान्छा छोरा गिरिजाप्रसाद मुलुकको दोस्रो जननिर्वाचित प्रधानमन्त्री हुन् । जनआन्दोलन ०६२÷६३ का कमान्डर गिरिजाप्रसादलाई गणतन्त्रका पिता पनि भन्ने गरिन्छ । यतिबेला कोइराला परिवारको विरासत थाम्दै नेपाली कांग्रेसको नेतृत्व लिन अघि सरेका डा. शशांक र डा. शेखर कृष्णप्रसाद कोइरालाका नाती हुन् । जसमध्ये शशांक बिपीका छोरा हुन् । डा. शेखर भतिजा हुन् ।

कोइराला परिवारको विरासतका रूपमा शशांक र शेखरमध्ये को अघि सर्छन् ? निक्र्यौल भइसकेको छैन । तर, विमलेन्द्र र प्रकाशमानले करिबकरिब निक्र्याैल गरिसकेका छन् । नेपाली कांग्रेस भित्रका यी चार हस्तीहरूले केबल पारिवारिक विरासत मात्रै बोकेका हुन् कि आफ्ना समकालीन नेता सरहको योगदान तथा निरन्तरता पनि छ ? भन्ने प्रश्नको उत्तर नेपाली कांग्रेसभित्र त खोजिने नै भयो, नेपाली कांग्रेस बाहिर पनि निकै चासोकासाथ हेरिएको छ ।

योगदान तथा निरन्तरताभन्दा पनि पारिवारिक विरासतकै कारण यी चार हस्तीहरूले पार्टीभित्र आफ्नो हैसियत बढाउँदै लगेर सभापति बन्नेसम्मको आकांक्षा राखेका हुन् कि ? भन्ने जिज्ञासा उत्पन्न हुनु स्वभाविकै हो । यो प्रश्नको उत्तर खोज्दा चारै नेताको हकमा एउटै पृष्ठभूमि देखिँदैन । तुलना नै गर्ने हो भने यी चारमध्ये विमलेन्द्र निधिको पृष्ठभूमि केही फरक देखिन्छ । आफ्ना पिताकै कारण निधिले कतिपय अवसरहरू गुमाएको देखिन्छ ।

उदाहरणका लागि ०४८ सालको आमनिर्वाचनमा प्रतिनिधिसभाको सदस्य उम्मेदवारका लागि युवाहरूलाई अवसर दिन एउटा मापदण्ड तयार गरियो । त्यो मापदण्ड थियो, ‘नेविसंघका सबै अध्यक्षहरूलाई उम्मेदवार बनाउने । पञ्चायतमा प्रवेश गरेका कारण पहिलो सभापति विपिन कोइराला रिङआउट भए ।

यो मापदण्डअनुसार दोस्रो अध्यक्ष शेरबहादुर देउवाले डडेलधुरामा टिकट मात्रै पाएनन्, सुदूर पश्चिमका सबै जिल्लामा टिक वितरणको अवसर पाए । चौथो अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरबाट टिकट पाए । पाँचौँ अध्यक्ष बलबहादुर केसीले ओखलढुंगाबाट टिकट पाए । छैठौँ अर्थात बहालवाला अध्यक्ष बालकृष्ण खाणले रूपन्देहीबाट टिकट पाए ।

तर, तेस्रो अध्यक्ष निधि रिङ आउट भए । उनी रिङ आउट हुनुको एउटा मात्रै कारण थियो आफ्ना पिता महेन्द्रनारायण निधिले पनि टिकट पाउनु । तर, एउटै परिवारका दुई जनालाई टिकट नदिने मापदण्ड भने कोइराला परिवार र गणेशमान सिंहको परिवारमा लागू भएन । गणेशमान सिंहको परिवारबाट मंगलादेवी सिंह र प्रकाशमान (आमा–छोरा) ले टिकट पाए । कोइराला परिवारबाट त गिरिजाप्रसाददेखि शैलजा आचार्यसम्म र लीला कोइरालादेखि सुशील कोइरालासम्मले टिकट पाए ।

त्यतिबेला कांग्रेस पंक्तिमा जबरजस्त रूपमा उठेको एउटा प्रश्न थियो, ‘मापदण्ड पुग्दापुग्दै पनि महेन्द्रनारायण निधिकै छोरो भएकोले बिमलेन्द्रले टिकट नपाउने, मापदण्ड पुग्दानपुग्दै पनि गणेशमानकै छोरो भएकोले प्रकाशमानले टिकट पाउने किन ? काठमाडौं कांग्रेसका तत्कालीन नेता मार्शलजुलम शाक्यले चुनावी आमसभामै गणेशमान सिंहलाई कटाक्ष गर्दै यो प्रश्न राखेका थिए । शाक्यले यो प्रश्न राख्नुको पनि कारण थियो ।

०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा गणेशमान सिंहले काठमाडौं कांग्रेसको सभापति पदबाट शाक्यलाई हटाएर प्रकाशमानलाई पदस्थापन गराएका थिए । त्यसो त निधि नेविसंघको अध्यक्ष पनि एक्कासि भएका होइनन् । जनकपुर क्याम्पसको स्ववियु सभापति, केन्द्रिय सदस्य हुँदै नेविसंघको अध्यक्ष बनेका हुन् ।

०४८ सालमा टिकट नपाएकै कारण निधि नेपाली कांग्रेसको राजनीतिक प्रतिस्पर्धाका विजयकुमार गच्छदार, डा. रामवरण यादव, खुमबहादुर खड्का, गोविन्दराज जोशीलगायत धेरै नेताभन्दा पछि परे । तर, ०४८ सालमै टिकट पाएका प्रकाशमान सिंहले भने गणेशमानले कांग्रेस छाडेपछि खासै प्रगति गर्न सकेनन् ।

यी दुवै नेता ०५७ सालमा पोखरामा सम्पन्न १०औँ महाधिवेशनमा एकैचोटी केन्द्रीय सदस्य निर्वाचित भए । यद्यपि निधिले भने ०५३ सालमा काठमाडौंमा सम्पन्न पार्टीको नवौँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पाँच विकास क्षेत्रबाट एक÷एक जना गरी पाँच जना मात्रै केन्द्रीय सदस्य निर्वाचित हुने र अरू सबै मनोनीत हुने प्रचलन थियो । ती केन्द्रीय सदस्यहरूलाई क्षेत्रीय कमान्डर भनिन्थ्यो ।

त्यो बेला मध्यमाञ्चल विकास क्षेत्रबाट निधिले उम्मेदवारी दिँदा प्रकाशमान सिंह समर्थक थिए । १०औँ महाधिवेशनपछि विमलेन्द्र र प्रकाशमानबीच सिनियर जुनियरको द्वन्द्व छ । राजनीतिक सक्रियता र निरन्तरताका हिसाबले निधि सिनियर हुन् भने अवसरका हिसाबले प्रकाशमान सिनियर हुन् । १२औँ महाधिवेशनको पूर्वसन्ध्यामा प्रकाशमान उपसभापति थिए भने निधि महामन्त्री । १२औँ महाधिवेशनका क्रममा दुवै जना महामन्त्री पदमा प्रतिस्पर्धामा उत्रिए ।

प्रकाशमानले जिते, निधिले हारे । यसैगरी कोइराला परिबारका दुबै हस्ती डा. शशांक र डा. शेखर भने पार्टी विभाजनपछि सम्पन्न ११औँ महाधिवेशनमार्फत केन्द्रीय समितिमा प्रवेश गरेका हुन् । त्यसअघि पदीय जिम्मेवारीमा यी दुई नेता खासै रहेको पाइन्न । दुवै जनाले आआफ्नो पेसा या व्यवसायमा रहेर नेपाली कांग्रेसलाई योगदान पुर्याउँदै आएका थिए । निरन्तरताका हिसाबले नेतृत्वका आकांक्षीमध्ये सभापति देउवा र वरिष्ठ नेता पौडेलपछि लगत्तै निधिको नाम आउँछ ।

तर, प्रकाशमान र कोइरालाद्वय डा. शेखर तथा शशांकको तुलनामा निधिले पारिवारिक विरासतका रूपमा कार्यकर्ता पाएका छैनन् । किनकी नेपाली कांग्रेसको ७४ वर्षको इतिहासमा कोइराला परिवारको प्रभुत्व अभिछिन्न रूपमा रहँदै आएको छ । कोइराला परिवारको हातबाट ठूलाठूला अवसर पाउनेहरूको सूची मुलुकभरी एक हजारभन्दा बढी छ ।

त्यसैगरी गणेशमान सिंह पनि स्थापनाकालदेखि पार्टी छाड्नु अघिसम्म नेपाली कांग्रेसको प्रभुत्वशाली भूमिकामा थिए । गणेशमानको हातबाट पनि मुलुकभरीका हजारौँ नेता तथा कार्यकर्ताहरूले निकै ठूलाठूला पद प्राप्त गरेका थिए । तर, गान्धीवादी आदर्श बोकेका महेन्द्रनारायण निधि भने यो मामिलामा लगभग निष्प्रिय थिए । कार्यकर्तालाई अवसर बाँड्नु त परै जाओस मापदण्ड पुगेको आफ्नै छोरालाई पनि टिकट दिलाउन उनले अडान लिएनन् ।

छोराले टिकट पाएपछि आफैँ सक्रिय राजनीतिबाट बाहिरिए । त्यसैले यी चार हस्तीमध्ये कोइरालाद्वय र सिंहले पारिवारिक विरासतका रूपमा नाम र आदर्शका अलवा कार्यकर्ताहरूसमेत प्राप्त गरेको देखिन्छ भने निधिले पारिवारिक विरासतका रूपमा नाम र आदर्श मात्रै प्राप्त गरेको देखिन्छ ।

प्रतिक्रिया