खेल नियमित गराउन खेलाडी नै सक्रिय, संघ बेखबर !

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण खेलकुद जगत्मा धेरै ठूलो असर परेको छ । धेरै मुलुकमा खेलकुद प्रतियोगिताहरु सुरु हुन अझै केही समय लाग्ने देखिन्छ । नेपालमा पनि खेलकुद प्रशिक्षण र प्रतियोगिता नहुँदा खेलाडीहरु लामो समयदेखि घरमै बस्नुपर्ने बाध्यता छ । खेलकुदलाई पेसा बनाएका खेलाडीहरु अहिले खेल हुने आशामा बसेका छन् । सरकारले खेलाडीको प्रशिक्षणका लागि अनुमति नदिँदा खेलाडीहरु मारमा परेका हुन् । कतिपय खेलाडी दैनिकी कसरी गुजारा गर्ने भन्ने चिन्तामा छन् । यस्तो अवस्थामा नेपालमा रहेका खेल संघहरुले प्रतियोगिता तथा प्रशिक्षण सञ्चालनका लागि कुनै पनि सक्रियता देखाएका छैनन् । तर, पछिल्लो समय खेलाडीहरु नै आफूहरु मारमा परेको भन्दै स्वयं सक्रिय बन्न थालेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारलाई खुला पत्र लेखेका छन् । उनले फेसबुकमार्फत राखेप र सरकारलाई खुला पत्र लेखेका हुन् ।

उनले आफ्नो र अखिल नेपाल फुटबल संघ (एन्फा) का तर्फबाट भन्दै राखेप र सरकारलाई सम्पूर्ण खेलकुद गतिविधि सुरु गर्न आग्रह गरेका छन् । उनले सबै मापदण्ड पूरा गरी प्रशिक्षण सुरु गर्न अनुरोध गरेका हुन् । ‘आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननीय सरकारज्यूलाई सानो खुला पत्र लेख्न चाहन्छु । म नेपाली राष्ट्रिय टोलीका तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्याक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सुरु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण रुपमा सुरु गर्न अनुरोध गर्दछु’ किरणले आफ्नो फेसबुकमा लेखेका छन्, ‘किन एकान दुकान गर्दै हुनुहुन्छ ? के खेलाडी सधैं मर्नैपर्ने हो ? मर्ने हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ? खेलाडी सधैं काठमाडौंको धुलोमा तपाईंहरु चैं चिलो गाडीमा ?’ साथै उनले सरकारलाई खेलाडीहरु विगत ७ महिनादेखि बेरोजगार भएको क्षतिपूर्ति कसले दिन्छ ? भन्दै प्रश्न उठाएका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय टोलीकी खेलाडी सावित्रा भण्डारीले पनि आफूहरु खेल खेल्ने अवस्थामा घरमै बसिरहनुपर्ने बाध्यात्मक अवास्था सिर्जना भएकामा दुःख व्यक्त गरेकी छन् । उनले पनि सरकारालई व्यक्तिगत तथा एन्फाका तर्फबाट खुला पत्र लेखेकी हुन् । ‘सरकारलाई मेरो अनुरोध । खेलाडीहरु यति बेला मैदानमा हुने अवस्थामा घरमा बस्नुपरिरहेको छ । स्वास्थ्य मापडण्ड अपनाएर सरकारले खेलकुद प्रतियोगिता तथा प्रशिक्षण सुरुवात गरे सबै खेलाडीलाई राहत मिल्नेछ । सबैखाले खेलकुद प्रतियोगिता सञ्चालनमा ल्याऊ तब मात्र खेलाडीहरुलाई राहत मिल्नेछ,’ सावित्राले फेसबुकमार्फत खुला पत्रमा लेखेकी छन् ।

प्रतिक्रिया