नाडाल १३औं पटक फ्रेन्च ओपन च्याम्पियन

पेरिस । दोस्रो वरियताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् । पेरिसमा आइतबार राति भएको फाइनलमा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचमाथि ३–० को सहज जित हात पार्दै नाडाल फ्रेन्च ओपनमा १३औं पटक च्याम्पियन बन्न सफल भएको हो । यस्तै नाडाल फ्रेन्च ओपनको १ सय एकल खेल जित्ने पहिलो खेलाडी बनेका छन् । दुवै खेलाडी खेल जीवनमा कीर्तिमानी ५६औं पटक भिड्दा नाडाले बाजी मारेका हुन् । क्ले कोर्टका बादशाह नाडालले जोकोभिचमाथि पहिलो र दोस्रो सेटमा ६–० र ६–२ को सहज जित हात पारे। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट नाडालले ७–५ ले आफ्नो पक्षमा पार्न सफल भए । जोकोभिचलाई पराजित गर्न नाडालले २ घन्टा ४१ मिनेट समय खर्चिए ।

यस्तै नाडालले सर्वाधिक ग्रान्डस्लाम जित्ने स्वीस रोजर फेडेररको कीर्तिमानलाई बराबरी गरेका छन् । फ्रेन्च ओपन जितसँगै नाडालले ३९ वर्षीय फेडेररको सर्वाधिक २० ग्रान्डस्लाम उपाधिसँग बराबरी गरेका हुन् । फाइन्लमा नाडालसँग पराजित जोकोभिचले १७ ग्रान्डस्लाम उपाधि जितेका छन् । २००५ मा पहिलोपटक फ्रेन्च ओपन च्याम्पियन बनेयता नाडालले १६ वर्षको अवधिमा तीनपटक मात्रै फ्रेन्च ओपन जित्न सकेका छैनन् । नाडालले २००९, २०१५ र २०१६ मा फ्रेन्च ओपन जित्न सकेनन् । त्यसपछिको सबै संस्करणमा नाडाल च्याम्पियन बन्न सफल भएका छन् ।

च्याम्पियन बनेसँगै नाडालले यहाँ जित्नु आफ्नो लागि सबै कुरा रहेको बताएका छन् । ‘यहाँ जित्नु भनेको मेरो लागि सबै कुरा हो । साँच्चिकै म २०औं ग्रान्डस्लाम उपाधि र रोजरको बारेमा सोच्दिन । यो केवल रोलान्ड गारोसमा जित हो । मैले यहाँ मेरो करियरमा सबैभन्दा महत्वपुर्ण पलहरु बिताएको छु,’ च्याम्पियन बनेपछि नाडालले भने,‘केवल यहाँ खेल्नु नै साँचो प्रेरणा हो । यो सहरमा मेरो प्रेम सम्वन्ध छ । यो कोर्ट मेरो लागि अविस्मरणीय छ ।’

प्रतिक्रिया