अन्योलमा नवौं राष्ट्रिय खेलकुद

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने तय भएको बृहत नवौं राष्ट्रिय खेलकुद अन्योलमा देखिएको छ । बढ्दो कोरोना भाइरस महामारीका कारण तोकिएको मितिमा हुने–नहुनेमा अन्योल भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले जानकारी दिए ।  उनले कोरोना भाइरसको हालको अवस्था हेर्दा नवौं राष्ट्रिय प्रतियोगिता हुने नहुनेबारे अहिले नै भन्न नसकिने प्रतिक्रिया दिएका हुन् । एलिट क्लब विराटनगरद्वारा आयोजित अनलाइन विमर्श कार्यक्रममा बोल्दै सिलवालले नवौं राष्ट्रिय खेलकुदको अन्तिम निर्णयका लागि मंसिरसम्म पर्खिनु पर्ने बताए ।

‘नवौं राष्ट्रि खेलकुदको विषय अहिले अन्योलमा छ । यस अवस्थामा हामीले केही भन्न सक्ने अवस्था छैन । किनभने हाल नेपालका संक्रमणको संख्या बढ्दो छ,’ सिलवालले भने, ‘कोरोनाको अवस्था मंसिरसम्म कस्तो हुन्छ हेरौं । मंसिरको अन्त्यसम्म अवस्था सामान्य भयो भने प्रतियोगिता तोकिएकै मितिमा हुन्छ । अवस्था यस्तै भयो भने ठूलो प्रतियोगिता गर्न सम्भव छैन । जसमा नवौं राष्ट्रिय खेलकुद पनि हो ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको छ ।

कोरोना भाइरसले नेपाली खेलकुद क्षेत्रमा ल्याएको चुनौती र सम्भावनाका विषय भएको अन्तक्रिया कार्यक्रममा सदस्य सचिव सिलवालले खेलकुद संघले पनि काम गर्न नखोजेको आरोप लगाएका छन् । उनले सबै संघहरुलाई तीन बर्षको विवरण बुझाउनभन्दा पनि अहिलेसम्म नबुझाएको बताए । हाल परिषद्मा दर्ता भएका २०९ संघमध्ये करिब ९० संघले मात्र आफ्नो तीन वर्षको विवरण बुझाएको बताए ।  राखेप सदस्य सचिव सिलवालले धेरै जसो संघहरु बायो डाटाका मात्र सीमित भएको आरोप लगाएका छन् । उनले धेरै संघहरु खेलाडी उत्पादन र खेलाडीको हक हितभन्दा पनि आफ्नो बायोडाटामा मात्र सिमित भएको आरोप लगाएका हुन् ।

प्रतिक्रिया