लकडाउनले ७ हजार पार्टी प्यालेस बन्द

काठमाडौ । कोरोना संक्रमण (कोभिड–१९) सँगै सुरु भएको लकडाउनले ७ हजार पार्टी प्यालेस व्यवसाय बन्द भएका छन । जस्को कारण ५० हजार भन्दा बढीको रोजगारी गुमेको छ ।  नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिले राज्यले तत्काल निर्वाध रुपमा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसंग माग गरेका छन । आइतबार अध्यक्ष जिसिले होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न दिने तर पार्टी प्यालेस व्यवसाय सञ्चालन गर्न नदिने कुरा नमिल्दो भएको बताएका हुन ।

भौतिक दूरी कायम गर्दै सरकारले तोकेको मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न माग गर्दा समेत व्यवसाय बन्द गरिनुको कारण सरकारले स्पस्ट पार्नुपर्ने उनको भनाइ छ । उनले पार्टी प्यालेस खोल्दा संक्रमण फैलिन्छ भन्ने भ्रम मात्रै भएको जिकिर गरे । ठूला होटल तथा रेष्टुरेन्टका पार्टीहल सञ्चालन हुँदा कोरोना नसर्ने तर पार्टी प्यालेसका हल सञ्चालन गर्दा कोरोना सर्ने कुरा आफूहरूले नमान्ने पनि अध्यक्ष जिसिको भनाई छ ।

नेपाल राष्ट्रिय पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले करिब ७ महीनायता पार्टी प्यालेस बन्द हुँदा व्यवसायबाट नै पलायन हुने स्थितिमा आफूहरू पुगेको बताए । उनले अहिले देशभर २ सय भन्दा बढी व्यवसायी पलायन भइसकेको बताउँदै अझबढी क्षति हुने आशंका ब्यक्त गरे । ५० हजार भन्दा बढीको रोजगारी गुम्ने मात्र नभएर सरकारले वार्षिक २ अर्ब भन्दा बढी राजश्व समेत गुमाएको उनको भनाइ छ ।

पछिल्लो समय आफूहरूसँग कर्मचारीका लागि तलब खुवाउन समेत पूँजीको अभाव भएको उनले बताए । त्यसबाहेक पार्टी प्यालेस व्यवसाय सञ्चालन नहुँदा कृषि उत्पादनको खपत घटेको र बजारमा मँहगी बढेको उनले दावी छ । प्रवक्ता पाण्डेका अनुसार कुल कृषि उत्पादनको २५ प्रतिशत पार्टी प्यालेस व्यवसायमा खपत हुँदै आएको छ ।

यसबाट अप्रत्यक्ष रुपमा लाखौंको रोजगारी प्रभावित भएको उनको भनाई छ । बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरू सबैभन्दा बढी समस्यामा परेकोमा पनि उनले जोड दिए । अन्य उद्योग व्यवसाय सरह यो व्यवसायलाई लिन पनि प्रवक्ता पाण्डेले सरकारसँग आग्रह गरे । संकटको बेला पार्टी प्यालेस व्यवसायीले सरकारबाट कुनैपनि राहत पाउन नसकेको गुनासो गरे ।

व्यवसायीले आफूहरू कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले तोकेको मापदण्ड सहित उच्च सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न सक्षम रहेको पनि बताएका छन । सरकारले आर्थिक कारोबारलाई चलायमान गराउन र व्यवसायबाट पलायन हुने स्थिति आउन नदिन पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरूको माग छ ।

प्रतिक्रिया