आठ ल्याबको पिसिआर परीक्षण शुल्क : दैनिक ३८ लाख अतिरिक्त असुल्छन्

काठमाडौं । राजधानीमा रहेका निजी क्षेत्रका आठ वटा अस्पतालका प्रयोगशालाले पिसिआर परीक्षणका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिइएको भेटिएको छ । राजधानीमा रहेका स्टार अस्पताल, ह्याम्स अस्पताल, बि एन्ड बी अस्पताल, नेपाल मेडिसिटी अस्पताल, डिकोड ल्याब, सौर्य हेल्थकेयर, सेन्ट्रल डायग्नोस्टिक (सिडिएल) र इन्ट्राप्रिड ल्याबले बढी शुल्क असुलिरहेका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रयोगशालालाई बढीमा दुई हजार मात्रै शुल्क लिन पाउने व्यवस्था गरे पनि यी आठ अस्पतालले सामूहिक रूपमा ३ हजार ८ सय ९९ रुपैयाँ लिने निर्णय गरेका थिए । सोहीअनुसार उनीहरूले रकम उठाइरहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यी आठ वटा निजी ल्याबले दैनिक सरदर दुई हजार स्वाब परीक्षण गर्ने गरेका थिए । यसमा सबैभन्दा स्टार अस्पतालले गर्ने गरेको देखिन्छ ।

सरकारी शुल्कलाई बेवास्ता गर्दै आपूmखुसी रकम तोक्दा यी ल्याबले दैनिक ३८ लाख रुपैयाँ बढी आम्दानी गरेको देखिन्छ । एउटा स्वाब परीक्षण गर्दा उनीहरूले सरकारले तोकेको भन्दा १ हजार ८ सय ९९ रुपैयाँ बढी लिएका हुन् । दुई हजार जनाको परीक्षण गर्दा ३७ लाख ९८ हजार रुपैयाँ नाफा देखिन्छ ।  अन्तर्राष्ट्रिय बजारमा पिसीआर किट र परीक्षणका लागि आवश्यक पर्ने अन्य सामग्रीको मूल्यमा निक्कै गिरावट आएपछि मन्त्रालयले नयाँ शुल्क निर्धारण गरेको थियो । १५ दिनमा दोस्रोपटक शुल्क घटाएर बढीमा दुई हजार रुपैयाँ लिन पाउने निर्णय २८ भदौदेखि गरे पनि निजी अस्पतालले त्यसलाई अटेर गर्दै ठाडै चुनौती दिएका हुन् । उनीहरूले बुधबारसम्म सरकारी शुल्कभन्दा अतिरिक्त ६ करोड ८३ लाख ६४ हजार रुपैयाँ बढी लिएका छन् ।

रियजेन्ट, स्वाब संकलन गर्ने भिटिएम, पिपिईको मूल्य पहिलेको तुलनामा आधाभन्दा कम भइसकेको छ । मूल्य घटेपछि सरकारले पनि परीक्षण शुल्क घटाएको थियो । तर, नाफा कमाउने उद्देश्य लिएका निजी अस्पतालले जनतालाई सोझै ठग्न थालेका छन् । सरकारी निर्णयलाई बेवास्ता गर्दै आइरहेका निजी ल्याबलाई स्वास्थ्य मन्त्रालयले बल्ल आएर २४ घण्टे अल्टिमेटम दिएको छ । लामो समय बढी शुल्क असुलेका उनीहरूले बिहीबारसम्म शुल्क नघटाए स्वाब परीक्षणको अनुमति खारेज गर्ने चेतावनी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्डिसेन्ट कमान्ड सिस्टमको बुधबारको बैठकले अल्टिमेटम दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनअनुसार विभिन्न आठ प्रयोगशालाले बढी शुल्क लिएको पाइएपछि यस्तो निर्णय गरेको गौतमले बताए । ‘गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनअनुसार विभिन्न आठ प्रयोगशालाले बढी शुल्क लिएको पाइयो’, प्रवक्ता गौतमले भने, ‘एकपटक चेतावनी दिने र २४ घण्टामा शुल्क समायोजन नभए वा नगरेमा प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गरेर पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय भएको छ ।’

स्वास्थ्य मन्त्रालयले शुल्क समायोजन नगरे कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने निर्णयसमेत गरेको छ । ऐनअनुसार तोकिएभन्दा बढी शुल्क लिएमा कारबाही गर्न पाउने प्रावधान रहेको छ । प्रवक्ता गौतमका अनुसार सरकारले तोकेको दुई हजारभन्दा बढी शुल्क लिने प्रयोगशालालाई कालोबजारी गरेको ठहर गर्दै गृह मन्त्रालय र वाणिज्य विभागलाई कारबाही गर्न पत्र पठाउने निर्णयसमेत भएको छ ।

१ हजार ५ सय ५९ संक्रमित थप
गत २४ घण्टामा १ हजार ५ सय ५९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले गत २४ घण्टामा थप भएकासँगै कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या बढेर २० हजार ८ सय ९१ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ९ सय २ जना संक्रमित फेला परेका छन् । यो बुधबारको कुल संक्रमितको झण्डै ५८ प्रतिशत हो । काठमाडौंमा ६ सय ७९, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जनामा संक्रमण देखापरेको छ ।  कोभिड–१९ मुक्त भई घर फर्किनेको संख्या १ हजार ५७ रहेको उनले जानकारी दिए । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ । बुधबार थप सात जनाको मृत्यु भएको र कुल मृतकको संखया ४ सय ९८ पुगेको छ ।

विगत २४ घण्टामा गरिएको पिसिआर परीक्षण १२ हजार २ सय ५ मा गरिएको छ । त्यो सँगै हालसम्म १० लाख २१ हजार ५ सय ३ परीक्षण गरिएको छ । संक्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ जना रहेको छ ।

प्रतिक्रिया