चेल्सीमाथि टोटेनहमको जित

लण्डन । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणको खेलमा टोटेनहम हस्टपरले प्रिमियर लिग प्रतिद्धन्द्धी लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीमाथि ५–४ को जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिएको थियो । अन्तिम पेनाल्टीमा चेल्सीका मासन माउन्ट चुक्दा टोटेनहमका ह्यारी केनले निर्णायक गोल गरेका थिए ।

पेनाल्टीमा टोटेनहमका इरिक डाएर, इरिक लमेला, पिएर इमिल होजवर्ग, लुकाु मोउरा र ह्यारी केनले गोल गरे । चेल्सीका ट्याम्मी अब्राहम, सेसर एज्पिलिक्वेटा, जर्गिन्हो र इमर्सनले गोल गर्दा मासन माउन्टको प्रहारलाई ह्युगो लोरिसले बचाउदै टोटेनहमलाई जित दिलाए ।
त्यसअघि टोटेनहम हस्टपर स्टेडियममा भएको खेलमा पाहुना टोली चेल्सीले खेलको १९औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता लिएको थियो । टोटेनहमका लागि डेब्यु खेल खेलिरहेका सर्जियो रिगुइलोनबाट चेल्सीका कप्तान सेसर एज्पिलिक्वेटाले खोस्दै कलुम हड्सन ओडोईले दिएको पासलाई एज्पिलिक्वेटाले दिएको क्रस पासलाई टिमोले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।

२२औं मिनेटमा ग्ड्सन फर्नान्डेस चुक्दा टोटेनहम बराबरीमाबाट चुक्यो । ३५औं मिनेटमा सर्जि औरिएरको पासमा इरिक लमेलाले गरेको प्रहारलाई चेल्सीका लागि डेब्यु खेलिरहेका गोलरक्षक इडवार्ड मेन्डीले बचाए । ५०औं मिनेटमा सर्जियो रिगुइलोनको प्रहारमा गोलरक्षक मेन्डी नै बाधक बन्दा टोटेनहम बराबरीबाट चुक्यो ।

७३औं मिनेटमा टिमो वेर्नरको प्रहारलाई ह्युगो लोरिसले बचाएपछि चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । ७७औं मिनेटमा जर्गिन्होको लामो पासलाई हड्सन ओडोईले नियन्त्रणमा लिन सकेनन् । ८३औं मिनेटमा इरिक लमेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सर्जियो रिगुइलोनको क्रस पासमा लमेलाले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

प्रतिक्रिया