अपराजित गेटाफे ला लिगाको शीर्षस्थानमा

मड्रिड । नयाँ सिजनको स्पेनिस ला लिगामा अपराजित रहेको गेटाफे शीर्षस्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा रियल बेटिसमाथि ३–० को सहज जित दर्ता गर्दै गेटाफे ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । घरेलु मैदान कोलिसियुम अलफन्सो पेरेज स्टेडियममा गेटाफेको जितमा एन्जल रोड्रिग्वेजले दुई तथा मार्क कुकुरेल्लाले एक गोल गरे । सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । गेटाफेको तीन गोलमा जुआन हर्नान्डेजले दुई असिस्ट दिएका थिए ।

खेलको १३औं मिनेटमा एलान नियोनको पासमा एन्जल रोड्रिग्वेजले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । सुरुवातमो उनको गोलले मान्यता नपाउदा भिएआरको सहायतामा एन्जलको गोलले मान्यता पाएको थियो । एक गोलले पछि परेपछि रियल बेटिसले बल पोजेसनमा बलियो पकड राखेपनि घरेलु टोलीको रक्षापङ्ति तोड्न सकेन । ३९औं मिनेटमा मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेको अग्रता दोब्बर पारे । जुआन हर्नान्डेजको पासमा उनले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ४२औं मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गरेपछि गेटाफेले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो । जुआन हर्नान्डेजको पासमा एन्जलले उत्कृष्ट फिनिस गरे ।

दोस्रो हाफमा पनि रियल बेटिसले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न चुक्दा पराजत हुन पुग्यो । एन्टोनियो सानाब्रिया, नेविल फेकिर, सर्जियो क्यानालेस,जुआनमी, गुइडा रोड्रिग्वेज र विलियम कार्भाल्होको प्रहारमा गेटाफेका गोलरक्षक डेभिड सोरिया बाधक बने । जितसँगै अपराजित रहेको गेटाफे ३ खेलबाट ७ अंक जोडेर ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।४ खेलबाट समान ७ अंक रहेपनि भ्यालेन्सिया गोलअन्तरमा दोस्रो स्थानमा छ । ६ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ ।

प्रतिक्रिया