विवादमा परेपछि पद्मश्री रद्द

काठमाडौं । विवाद भएपछि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्ष प्रदान गर्ने पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको मंगलबार बसेको बैठकले पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको हो । लेखक तथा समालोचक सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई पद्मश्री पुरस्कारका लागि छनोट गरिएको थियो । यस्तै, पद्मश्री साधना सम्मान लेखक तथा राजनीतिकर्मी मोदनाथ प्रश्रितलाई दिने निर्णय गरिएको थियो । उक्त निर्णयप्रति असहमति जनाउँदै उप्रेतीले प्रश्रितसँगै बसेर पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए । उनको घोषणापछि प्रश्रितले पनि सो पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए । पुरस्कृत र सम्मानित दुवैले उक्त पुरस्कार र सम्मान नलिने बताएपछि पद्मश्री पुरस्कार कार्यक्रम नै रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’ प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि पद्मश्री साहित्य पुरस्कार प्रदान आएको छ भने पद्मश्री सम्मान २०६७ सालदेखि दिँदै आएको छ । यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिकर्मी तथा साहित्यकार प्रश्रितमाथि अप्रमाणित आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

उनले अप्रमाणित आरोप लगाएर प्रश्रितको बदनाम गर्न खोजेको जिकिर गरेका छन् । मुख्यमन्त्री पोखरेलले शारदा भुसाल झाले आफूमाथि यौनहिंसा गरेको भनेर लगाएको आरोपलाई अप्रमाणित भनेका हुन् । उनले आख्यानकार तथा लेखक उप्रेतीले साहित्यकार प्रश्रितलाई अप्रमाणित कुरासँग जोडेर बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् । उनले खेम–हरिकला समाज कल्याण प्रतिष्ठानले दिएको पुरस्कार प्रश्रितमाथि अप्रमाणित कुरालाई लिएर बदनाम गर्ने नियतले उप्रेतीले अनावश्यक उछालेको पनि जिकिर गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सञ्जीव उप्रेतीजीले समाजको रुपान्तरणमा प्रश्रितको जस्तो योगदान गर्न नसकेका कारणले एकसाथ पुरस्कार नलिने भनेको होला भनेको त शारदा झाले चर्चामा आउन गरिएको अप्रमाणित आरोपसँग जोडेर भन्नु भएको रहेछ । उहाँको कुरा सुन्दा साह्रै दुःख लाग्यो । प्रश्रितले नेपाली समाजको परम्परागत सामान्ती जडतालाई तोड्न र सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा पु¥याएको योगदान अतुलनीय छ । एकाध कितावको सफलतासँग उहाँको योगदानको तुलना हुन सक्तैन । सञ्जीवजीले आफ्नो कमजोरी महशुसगरी प्रश्रितजीलाई सम्मान गर्नुहुनेछ ।’

प्रतिक्रिया