कोरोना संक्रमित कैदीबन्दीलाई स्याउ र हर्लिक्स वितरण

सिरहा । जिल्ला कारागार सिरहामा रहेका कोरोना संक्रमित कैदीबन्दीलाई पौष्टिक आहार वितरण गरिएको छ । सिडियो कणेलको रोहवरमा सिरहा नगरपालिकाले कारागारको आइसोलेसनमा रहेका संक्रमितलाई पौष्टिक आहार पुग्ने सामग्री वितरण गरेको हो ।

कारागारमा रहेका कैदीबन्दीलाई एक सय ५२ किलो स्याउ र ६ सय थान आधा किलोको हर्लिक्स उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रदिप राज कणेलले बताए । सिरहा कारागारमा दुई आश्रितसहित पाँच सय ८७ जना कैदीबन्दीमध्ये २७ गते भदौमा कोरोना परीक्षणमा चार सय ८५ जना संक्रमित रहेका छन् ।

संक्रमितहरूलाई पौष्टिक अभाव कमी महसुस भइरहँदा सिरहा नगरपालिकाले पौष्टिक आहारको व्यवस्थापन गरेको प्रजिअ कणेलले बताए । कारागारमा रहेका कोरोना संक्रमितको स्वास्थ्य निगरानी राख्न एकजना चिकित्सकसहित १० जना स्वास्थ्यकर्मीको टोली र एम्बुलेन्सको व्यवस्था पनि गरिएको प्रजिअ कणेलले बताए ।

एक सय ५० जना कैदीबन्दी राख्ने क्षमता रहेको सिरहा कारागारमा चार गुणा बढी कैदीबन्दी राखिएको छ । यता कारागारसँगै रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई आइसोलेसन बनाउने काम भइरहेको सिडियो कणेलले जानकारी दिए ।

प्रतिक्रिया