नागरिक पेन्सन योजनाको बैकिङ पार्टनरमा एनआइसी एसिया

काठमाडौ । नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक बैकिङ पार्टनरको रुपमा नियुक्त भएको छ । सो सम्बन्धमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन ।

सबै नेपालीलाई एउटा नवीन तथा सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै कोषले ‘नागरिक पेन्सन योजना’ सर्वसाधरणको हितमा ल्याएको हो । यस योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन ।

‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सबै नेपाली नागरिक सहभागी हुन सक्नेछन । यस योजनाका सहभागीले न्यूनतम मासिक ५ सय रुपैया देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।

योजनामा आवद्ध हुनेलाई बैकमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्था सहित बैंकले छुट्टै भौचरको व्यवस्था गरिसकेको छ । साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत पेन्सन योजनाका सहभागीले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया