‘निष्क्रिय खेल संघलाई कारबाही गछौं’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएका सक्रिय १८३ वटा खेल संघ छन् । करिब २०९ खेल संघमध्ये सक्रिय कमै छन् । वार्षिक रुपमा एक खेल प्रतियोगिता पनि नगर्ने खेल संघहरु पनि छन् । खेलकुदको विकास गर्ने र खेल खेलाडीको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य बनाएका खेल संघहरुले नत खेलाडीको हक-हितका लागि काम गर्छन् । नत कुनै खेल विकासका लागि अग्रसर हुन्छन् । खेलकुद प्रतियोगिता नगर्ने विदेश जाने कुरामा भने अग्रसर हुने खेल-संघहरु राखेप माताहतमा धेरै छन् । राखेपले आफू माताहतमा रहेका खेल-संघहरुलाई पछिल्लो तीन वर्षमा आफूले गरेको कामको लिखित विवरण दिन पत्र पठाएको छ ।

राखेप सदस्य–सचिव रमेश सिलवालले पछिल्लो तीन वर्षमा के–के कार्यक्रम भयो ? कुन–कुन खेल प्रतियोगिता र कुन स्तरको खेल भयो ? राखेपबाट के कति सहयोग भयो ? अर्थिक कसरी जुट्यो ? त्योसहितको एउटा फाराम आफूले पठाएको बताए । उनले पठाएको फारामबाट हालसम्म ९० खेल संघले मात्र पूर्ण रुपमा विवरण भरेर पठाएका छन् । त्यसबाहेक ११९ खेल संघ हालसम्म मौन छन् । वार्षिक रुपमा एक खेल प्रतियोगिता पनि गर्न नसक्ने र विदेश जाँदा मात्र सक्रिय देखिने प्रवृति देखिएको सदस्य–सचिव सिलवालले बताए ।

‘म राखेपमा आएको पहिलो वर्ष नै खेल संघहरुबारे जानकारी लिएको थिएँ । छानबिन गर्दा २०९ खेल संघ भेटाएँ । त्यसपछि मैले सबै खेल संघहरुलाई वार्षिक रुपमा गरेको प्रतियोगिता । खेल र खेलाडीको हक–हितका लागि गरेको कार्यक्रमहरु । कुन स्तरको खेल प्रतियोगिता गरियो र कसरी आर्थिक जुट्यो भन्ने विषयमा जानकारी लिएको थिएँ । तर, हालसम्म मात्र ९० खेल संघले मैले पठाएको फाराम भरेर पठाएका छन् । बाँकी ११९ हालसम्म सम्पर्कमा छैनन्,’ सदस्य–सचिव सिलवालले भने ।

राखेपमा आबद्ध विभिन्न खेल संघहरुले यो आर्थिक वर्ष सकिएको दुई महिना बितिसक्दा पनि वार्षिक प्रतिवेदन बुझाएका छैनन् । दुई महिनामा दुईवटा खेलकुद संघले मात्र वार्षिक प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुझाएका छन् । नयाँ ऐन कार्यान्वयनमा अलमल देखिएकाले धेरै संघको प्रतिवेदन राखेपमा नआएको सदस्य–सचिव सिलवालले बताए ।

खेल संघहरुले आफ्नो वार्षिक प्रतिवेदन बुझाउने मिति अझै भएकाले प्रतिवेदनका लागि भने पर्खिरहेको उनले बताए । राखेपले सबै खेल संघहरुलाई वार्षिक प्रतिवेदन पठाउन भन्दै पत्र पठाइसकेको छ । उक्त पत्रको कार्यान्वयन गरेर केही संघहरुले मात्र पत्र पठाएका छन् ।
‘वार्षिक प्रतिवेदन पठाउन राखेपबाट पत्राचार भइसकेको छ । त्यसमध्ये दुई खेल संघले मात्र वार्षिक प्रतिवेदन पठाएका छन् । अन्य खेल संघहरुलाई पनि आफूले गरेको वार्षिक गतिविधि, आर्थिक आय–व्ययलगाययत खेल प्रतियोगिताबारे पनि पूर्ण जानकारी गराउन पत्र पठाएका छौं,’ सिलावालले भने ।

उनले अब खेल प्रतियोगिता नगर्ने, वार्षिक प्रतिवेदन बुझाउन नमान्ने खेल संघहरुलाई कारबाही गर्ने बताएका छन् । ‘खेल क्षेत्रमा वार्षिक रुपमा पनि एउटा पनि प्रतियोगिता नगर्ने । खेल तथा खेलाडीको हक–हितका लागि केही नगर्ने, वार्षिक प्रतिवेदन बुझाउन अटेर गर्ने संघहरुलाई छिटै कारबाहीको दायरामा ल्याउँछौं,’ सिलवालले भने ।

प्रतिक्रिया