निरन्तरको वर्षाले बेहाल

काठमाडौं । बुधबारदेखिको लगातार वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण आएको बाढीपहिरोमा परेर एकै परिवारका नौ सहित १५ जनाको मृत्यु भएको छ । ६ जना अझै पनि बेपत्ता भएका छन् ।  शनिबारसम्म वर्षा हुने पूर्वानुमान भइरहेका बेला ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए ।

स्याङ्जाको छुट्टाछुट्टै दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ । वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ जनाले ज्यान गुमाएका छन् । कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा एक जनाको मृत्यु भएको छ ।

तमादीमा बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये नौ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा सात महिनाका शिशुसमेत रहेको प्रहरीले जनाएको छ । पहिरोले पुरिएर २८ वर्षीय उमाकला नेपाली, ४८ वर्षीय माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीय सोनी नेपाली, नौ वर्षीय विवश नेपाली, १९ वर्षीय विनिदा नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १४ वर्षीय विक्रम नेपाली र ६ महिनाको नाम नखुलेको बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

घरका सबैको पहिरोमा पुरिएर मृत्यु हँुदा १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरिएको हो । घाइते मनिषाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । मृत्यु भएकी उमाकला दिदी मायाको घरमा पाहुना बस्न आएकी थिइन् ।
यसैगरी, मायासहित उनका चार जना छोराहरू दीपक, कुलदीप, विक्रम र विवशको पनि मृत्यु भएको छ । विनिता कुलदीपकी पत्नी हुन् । पहिरोमा परी मृत्यु भएका सात महिने शिशु उनीहरूकै हो । त्यसैगरी बिहीबार बिहान दुई बजे कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।

यता, पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा पाँच बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । निरन्तर वर्षा र पुनः पहिरो खसेपछि रम्भा गाउँपालिका–२, फोक्सिङकोट बेलौजामा पहिरोमा पुरिएका पाँच जनाको बिहीबार अबेरसम्म पनि खोजी हुन सकेको छैन । बुधबारको पहिरोले घर पुर्दा ६० वर्षीय हुमबहादुर गाहा, ५० वर्षीय धनीसरा गाहा, १७ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीय खुमीसरा गाहा बेपत्ता भएका छन् ।

पुनः पहिरो खसेर अर्को घरसमेत पुरेपछि उनीहरूको खोजी कार्य हुन नसकेको रम्भा–२, फोक्सिङकोटका वडाध्यक्ष उमानसिंह सारुले बताए । उनका अनुसार वर्षा पनि अबेरसम्म रोकिएको छैन । पुनः पहिरो खसेर दलबहादुर गाहाको घर पुरिएको छ । राती नै हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरेको थियो । विकट गाउँ भएको र सडकमा ठूला पहिरो खसेकाले तानसेनबाट गएको उद्धार टोली बाटोमै अड्किएको छ ।

उता, कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी कोइली खोलाले बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ । विद्युत् मर्मत गरेर फर्किंदै गर्दा बुधबार गाडी बगाउँदा बेपत्ता भएकामध्ये अर्घाखाँची शीतगंगाका केशवप्रसाद भाट मृत भेटिएका हुन् । बाडगंगाका विद्युत् प्राधिकरण जितपुर फिड सेवा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल अझै बेपत्ता छन् । जिपचालक गुल्मीका माधवप्रसाद पाण्डेको बुधबार नै शव भेटिएको थियो ।

यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण नदीनालामा बहावसमेत बढ्न थालेको छ । अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आमनागरिकलाई आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगंगा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ । यस्तै कर्णाली, कोसी, कन्काई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, २, वाग्मती, गण्डकी, प्रदेश–५ र कर्णाली प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया