कपुरकोट सिलसँगै तरकारी हाटबजार पनि बन्द

सल्यान । बेमौसमी तरकारीका लागि पकेट क्षेत्र एक साताका लागि सिल गरिएको छ । धनबाङ स्वास्थ्य चौकी कपुरकोटका कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले एक साताका लागि कपुकोट क्षेत्र सिल गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी धेरै व्यक्तिहरूको सम्पर्कमा आएकोले समुदायमा कोरोना संक्रमण फैलिन नदिन कपुरकोट क्षेत्र सिल गरिएको गाउँपालिकाले जनाएको छ । कपुरकोट क्षेत्र सिल गरिएसँगै हप्तामा दुई दिन लाग्दै आएको तरकारी हाटबजारसमेत प्रभावित भएको छ ।

गाउँपालिकाले बिहीबार राती १० बजेदेखि २५ भदौ राती १० बजे सम्मका लागि कपुरकोट गाउँ कार्यापालिकाको कार्यालय, वडा–३ कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रूपमा सिल गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए ।

जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ, कृषि उपज बजार केन्द्रलगायत सर्व पक्ष सम्मिलित गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बजार क्षेत्र सिल गरिएको अध्यक्ष सेनले बताए ।  तरकारी बजार बन्द भएकाले कुनै पनि व्यापारीलाई गाउँमा जान प्रतिबन्ध लगाइएको छ । सम्बन्धित वडाका किसानले नै तरकारी लोड गरेर बजार पठाउने व्यवस्था मिलाउन कृषि उपज बजार केन्द्रलाई निर्देशन गरिएको अध्यक्ष सेनले जानकारी दिए ।

यसैबीच संक्रमित व्यक्तिको सम्पर्कमा रहेका र जोखिमयुक्त समूहका व्यक्तिहरूको स्वाब संकलन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिए । ‘उहाँको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको छ’, भण्डारीले भने ।

हाल धनबाङ स्वास्थ्यचौकीमा अन्य स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मीलाई काजमा खटाएर आकस्मिक तथा प्रसूति सेवा सञ्चालनको व्यवस्था मिलाइएको स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए । हालसम्म सल्यान जिल्लामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म २ सय ५७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ४२ जनालाई भने जिल्लाका विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया