दोस्रो विश्वयुद्धमा जापानले युद्धबन्दी बनाएका ब्रिटिश सैनिकको नासो ७७ वर्षपछि फिर्ता

एजेन्सी । दोस्रो विश्वयुद्धको बेला जापानले युद्धबन्दी बनाएका र बर्मास्थित एउटा शिविरमा मृत्यु भएका एक सैनिकको नासो उनको परिवारले ७७ वर्षपछि फिर्ता पाएको छ । सन् १९४३ मा २३ वर्षीय पिटर र्‍यामको मृत्यु भएपछि उनका साथी एरिक एडीले कुकुरको घाँटीमा बाँधिने ट्यागहरू फेला पारेका थिए । गत महिना ९६ वर्षको उमेरमा एडीको मृत्यु भएपछि उनका छोरा रोबर्टले लेफ्टिनेन्ट र्यामको आफन्त पत्ता लगाएर ती नासोहरू फिर्ता गरेका हुन् ।

सन् १९४२ र्याम र एडी दुवै जना रोयल नोर्फक रेजिमेन्टमा हुँदा सिङ्गापुर खटिएका थिए । त्यही बेला जापानी सेनाले आक्रमण गरेर उनीहरूलाई बन्दी बनाएको थियो । रोबर्ट एडीका अनुसार उनीहरूलाई एउटा शिविरबाट अर्को शिविरमा सारिएको थियो । जापानले आफ्नो फौजलाई सामान आपूर्ति गर्न निर्माण गरेको बर्मा रेल्वेमा उनीहरूलाई काम गर्न पठाएको थियो । उक्त रेलमार्गको निर्माण गर्दा हजारौँ बन्दीहरूको मृत्यु भयो ।

‘मेरा बुवा युद्धका बेलाको कुरा खासै गर्नुहुन्नथ्यो। युद्धबन्दी हुँदाको कुरा त झन् गर्नैहुन्नथ्यो,’ एडीले भने । ‘तर उहाँले एउटा शिविरमा ज्यान गुमाएका आफ्ना साथीबारे भन्नुभएको थियो ।’ एरिक एडीलाई बर्माको रेल्वेमा काम गर्न खटाइएको थियो जहाँ १००,००० युद्धबन्दीको मृत्यु भएको थियो ।

‘कुनै कारणले बुवाले पिटरको नासो फिर्ता गर्नुभएन। अनि ७७ वर्षसम्म त्यो उहाँसँगै रह्यो,’ उनले भने, ‘मैले सामान खोज्दा ती ट्यागहरू हाम्रो परिवारका हैनन् भन्ने पत्तो पाएँ, अनि म पिटरको परिवार खोज्न थालेँ ।’ र्यामका भान्जा रोबिन ग्रीनलाई आफ्ना मामाको बर्मास्थित शिविरमा मृत्यु भएको थाहा थियो । उनीसँग र्यामका दुईवटा डायरी पनि थिए ।

तर, एडीको फोन आउँदा र मामाको नासो फिर्ता पाउँदा उनी छक्क परे । तेस्रो लहरमा बायाँबाट सातौँ र आठौँ स्थानमा एडी र र्याम ‘रोबर्टले मलाई यति लामो समयपछि पत्ता लगाउँदा मैले पत्याउनै सकिँनँ,’ उनले भने ।

आफूसँग आफ्ना मामा र उनका साथी पिटरले सँगैसँगै तालिम लिएको तस्बिर पनि भएको उनले बताए । जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । शनिवार ७५ औँ भीजे डे मनाइँदैछ । त्यसको पूर्वसन्ध्यामा रोयल ब्रिटिश लीजनले सार्वजनिक गरेका कथाहरूमध्ये र्यामको नासोको कथा पनि संलग्न छ । – बीबीसी

प्रतिक्रिया