दीर्घ रोगीलाई जोगाउनै मुस्किल

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट नेपालमा ४० वर्ष उमेरमाथीका व्यक्तिको धेरै मृत्यु भएको छ । विहिवारसम्म स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर ९५ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ७५ प्रतिशत व्यक्ति ४० वर्ष भन्दा माथि उमेर समुहका रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार मृतकमध्ये ६० वर्ष उमेरमाथीका करिव ३८ प्रतिशत रहेका छन् । ४० देखी ६० वर्ष उमेर समुहका व्यक्तिको संख्या पनि त्यत्ति नै रहेको छ । मृतकको संख्या दैनिक रुपमा बढिरहेको छ । पछिल्ला आठ दिनमा ३५ जनाको मृत्यु भईसकेको छ । कोरोना संक्रमित देखिएका व्यक्तिमध्ये शुन्य दशमलव ४ प्रतिशतको मृत्यु हुने गरेको छ । मृतकमध्ये पनि अधिकाशं दीर्घरोगी, श्वासप्रश्वास सम्वन्धि रोग र मुटुसम्बन्धि समस्या भएका व्यक्ति रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २९ साउनसम्म कुल ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यीमध्ये ६० वर्षदेखि माथी उमेर समूहका ३६ जना रहेका छन् । ३६ जनामध्ये २० जना ७० देखि ८५ वर्षका छन् भने बाँकी १६ जना ६० देखि ६९ वर्ष उमेरका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेहरूमा ४० वर्षदेखि ५९ वर्षसम्मका र ६० वर्षभन्दा माथिका उमेर समुहका व्यक्तिको संख्या उत्तिनै रहेको छ । विहिवार यो उमेर समुहका थप दुई जनाको मृत्यु भएको थियो । कोरोनाका कारण मृत्यु हुनेमा ४१ देखि ५९ वर्ष उमेर समूहका पनि ३६ जना रहेका हुन् । कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ४१ वर्षदेखि माथि उमेरसमुहका ७२ जनाको ज्यान गएको छ ।

युवाअवस्थामा ज्यान गुमाउने संख्या पनि १० रहेको छ । यो उमेर समुहमा पनि दीर्घरोगी धेरै रहेका छन् । ३० देखि ४० वर्ष उमेर समूहका १० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा २० देखि २९ वर्ष उमेरका ७ जना, १० देखि १९ वर्ष उमेरका ३ जना र १ देखि ९ वर्ष उमेरका २ जना छन् । यस्तै कोरोना संक्रमणका कारण ४९ दिने शिशुको समेत मृत्यु भएको छ ।

लिंगका हिसाबले हेर्ने हो भने मृतकमा महिलाको भन्दा पुरुषको संख्या अत्याधिक रहेको छ । ७३ जना पुरुष र २२ महिलाको अहिलेसम्म मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । सवैभन्दा बढी प्रदेश–२ मा संक्रमितको मृत्यु भएको छ । प्रदेश–२ मा मात्रै ३९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार, २८ जना पुरुष र ११ महिलाको संक्रमणबाट मृत्यु भएको हो । प्रदेश–१ मा ८, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ६, प्रदेश–५ मा १२, कणाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा ८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी आइसियु र भेन्टिलेटरमा रहेको विरामीको संख्या पनि ९६ पुगेको छ । जसमध्ये ५ जनाको बागमतिमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । आइसियुमा उपचार गरिरहेका ९१ जनामध्ये सबैभन्दा धेरै प्रदेश–२ मा ४३ जना छन् । बागमतिमा ३८, प्रदेश–५ मा ९ र गण्डकी प्रदेशमा १ जना छन् । ४४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गरेर होम आइसोलेसनमा बस्न दिने प्रावधान ल्याएपछि संक्रमितहरु घरमै बसेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हाल ९४२ आइसियु र ४९६ भेन्टिलेटर रहेका छन् । प्रदेश–१ मा ४३, प्रदेश–२ मा ४५, बागमतिमा ६३०, गण्डकी प्रदेशमा १३७, प्रदेश–५ मा २९, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १८ आइसियु रहेका छन् । यस्तै, प्रदेश–१ मा १९, प्रदेश–२ मा १७, बागमतिमा ३६१, गण्डकी प्रदेशमा ५९, प्रदेश–५ मा १३, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १० भेन्टिलेटर कोरोना संक्रमितका लागि छुट्टाइएको छ ।

काठमाडौंमा १२७ सहित ५२५ संक्रमित थप
गएको २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । ५२५ जना नयाँ संक्रमित फेला परेको छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै १२७ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो तीन दिन यता लगातार एक सय जनाभन्दा बढी नयाँ संक्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना भेटिएका छन् । पछिल्लो तीन दिनमा मात्रै काठमाडौं उपत्यकामा ३९९ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा बुधबार १३८ र मंगलबार १३४ जनामा संक्रमणको पुष्टि भएको थियो ।

संक्रमित व्यक्तिहरूको संख्या २४ हजार ९५७ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले ८ हजार २५ जनामा सक्रिय संक्रमित छ भने १६ हजार ८३७ जना भाइरसमुक्त भएका छन् । सबैभन्दा धेरै सक्रिय संक्रमित प्रदेश–२ मा ३ हजार ५९९ जना र वागमती प्रदेशमा १ हजार ७०३ जना रहेका छन् ।

बिहीवार पुष्टि गरिएका चार मृतकहरूमा तीन पुरुष र एक महिला रहेका छन् । क्षयरोग भएका महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, मुटुसम्बन्धी समस्या भएका अछामका १८ वर्षीय पुरुषको साउन २८ गते निधन भएको हो । त्यस्तै धनुषाका ८५ वर्षीया महिला र मोरंगका मधुमेह एवम् उच्च रक्तचापबाट पीडित ५७ वर्षीय पुरुषको साउन २८ गते संक्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया