दाहालको नियात्रा

काठमाडौं । साहित्यकार खेमनाथ दाहालको नवीनतम् कृति ‘यात्राको सिकर्नी’ नियात्रा संग्रह सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्य लगायतका कृति लेखेका दाहालले यस कृतिमा आफ्नो यात्रा अनुभूतिलाई कलात्मक रुपमा उधिनेका छन् ।

उषा दाहाल प्रकाशक रहेको उक्त कृतिको आवरण, आकृति र वर्णविन्यास रमेश दाहालको रहेछ । पुस्तकमा काठमाडौंदेखि क्वालालम्पुरसम्म, राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म, गेन्टिङ हाइट्सदेखि चेन सी टेम्पलसम्म, बटु गुफाको सेरोफेरो, पेट्रोनास टार्वसलाई नियाल्दा, सिंगापुर यात्रा, पुत्राजयमा नेपालको झण्डाको विषयलाई चित्रण गरिएको छ । त्यस्तै, मानार्थ राजदूत टेरी टिओको डार्कमा, राजकुमारको निम्तोमा, राजदूतावासको सेरोफेरो, भूगोल र इतिहास, मलेसियाको अर्थतन्त्र र दक्षिण पूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्ध जस्ता १४ ओटा नियात्रा समावेश गरिएको छ ।

प्रस्तुत कृतिमा दाहालले काठमाडौंदेखि क्वालालम्पुरसम्म प्रारम्भ गरी दक्षिणपूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्धका विषयलाई समेटेका छन् । मलेसिया र सिंगापुरका महत्वपूर्ण स्थानको यात्राका क्रममा प्राप्त भएका सामग्रीलाई कृतिमा प्रस्तुत गरिएको छ । यो कृति एउटा नियात्रा संग्र्रहमात्र नभएर सिंगापुर मलेसिया र नेपालकै विषयमा पनि एउटा ऐतिहासिक दस्तावेजको रुपमा आएको छ ।

प्रा.डा कृष्णप्रसाद दाहालले नियात्राकार खेमनाथको यात्राको सिकर्नी ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, राजनीतिक र राष्ट्रियताले भरिएको कृतिका रुपमा आएको बताए । उनले भने, ‘यो नियात्रा संग्रह बौद्धिकताको कोषागार पनि हो ।’ यस्तै प्राध्यापक राजेन्द्र सुवेदीले यात्राको सिकर्नीमा स्रष्टा दाहालको नियात्रा चेतनाभित्र यात्रारत् चेतना पनि प्रकट भएको बताए । उनले भने, ‘यस कृतिले सर्जक, प्रकाशक, पाठक, भावक तथा समीक्षक पारखीहरुको चेतना पक्कै पनि आकर्षित गर्नेछ नै ।’

नियात्राकार खेमनाथले यात्राका क्रममा आफूले भोगेका अनुभूतिलाई पुस्तकमा उतारेको बताए । उनले भने, ‘आफू कविता विधामा रमाउने मान्छे, यात्राका क्रममा जहाँ जहाँ पुगेँ त्यहाँ त्यहाँ मैले विविध रुपमा नेपालका बिम्ब देखेँ, आमाका सन्देशहरु भेटेँ र यहाँ प्रस्तुत गरे ।’ दाहालका यसअघि ‘श्रद्धाञ्जली’ कविता संग्रह, ‘रश्मि’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारी’ कविता संग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कविता संग्रह जस्ता कृति पाठकमाझ आएक छन् ।

प्रतिक्रिया