शिर्ष नेता छलफलमाः कार्यकर्ता सडकमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादले नेता, कार्यकर्ता नै अलमलमा परेका छन् । शिर्ष दुई अध्यक्ष निरन्तर छलफलमा छन्, नेता कार्यकर्ता भने धर्ना र प्रर्दशनमा छन ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगत केही दिनदेखी निरन्तर छलफल जुटिरहने र बाहिर कुनै खवर नआउने भएपछि आफु गुटका नेताहरु धर्ना र प्रर्दशनमा उत्रिएका हुन् । जारी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा माग गरेपछि नेकपाको विवाद असार १६ गतेदेखी चुलिएको छ । शुरुका दिनमा फुटको संघारमा पुगेको नेकपाको विवाद नवौं दिनका दिन आईपुग्दा पनि भने अब के हुने भन्नेमा अन्यौल कायमै छ ।

दुई अध्यक्षबीच निरन्तर वार्तामा रहदा असन्तुष्ट नेपालले भने आफु बिना कुनै सहमति गरे त्यो मान्य नहुने चेतावनी दिईसकेका छन् । मुख्य गरी नेकपाका तीन नेताका तीन वटा बेग्लाबेग्लै चाहना भएका कारण ठोस सहमति जुट्न सकेको छैन । जसका कारण पटक पटक स्थायी कमिटी बैठक धकेलिदै गएको छ । प्रधानमन्त्री ओली दुवै पदबाट राजिनामा नदिई कार्यकारी अध्यक्षको भूमिका लिन प्रचण्डलाई आग्रह गर्दै आएका छन् । प्रचण्ड ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिन भनिरहेका छन् भने नेपाल दुवै पदबाट राजिनामा दिनुपर्ने अडानमा देखिएका हुन् । जसका कारण अहिलेसम्म सहमति जुटेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ पनि अध्यक्षद्वय बीच दुई घण्टा लामो ‘वान टू वान’ वार्ता भयो । वार्ताका विषयमा कुनै पनि औपचारिक जानकारी दुवै पक्षले दिएका छैनन् । दुवै पक्षको एउटै भनाई छ,‘अहिलेसम्म सहमति भएको छैन, वार्ता सकरात्मक भएकाले भोली फेरी छलफल हुन्छ ।’ यो भनाई विगत केही दिनदेखीको निरन्तरता हो । यद्यपी उनिहरु बीच पावर सेयरिङका विषयमा कुरा नमिलेको बताइएको छ । दुवै पक्षको केही आन्तरिक कुराहरु व्यवस्थापनमा एकले अर्को पक्षलाई गलाउन नसकेपछि वार्ता जारी रहेको स्रोतको दावी छ ।

नेताहरुबीच सहमति नहुँदा पार्टी अझै फुट्ने हो कि भन्ने चिन्ता तीनै गुटका नेता कार्याकर्तामा परेको छ । ओली पक्षीय कार्यकर्ताहरु अहिले देशैभर प्रर्दशनमा उत्रिदै सरकार ढाल्न पाइदैन भनिरहेका छन् । उनिहरुले स्थिरता प्रदान गर्ने नाराका साथ चुनावमा गएकाले सो पुरा गर्नुपर्ने बताईरहेका छन् । प्रचण्ड–नेपाल समुह भने सो प्रर्दशन रोकिनु पर्ने बताउदै आएका छन् । उनिहरु समर्थित नेताहरु भने पार्टी कार्यालयमा धर्ना समेत बसिरहेका छन् ।

स्थायी कमिटी बैठककै बिचमा शिर्ष नेताहरु गुटगत भेलामा सक्रिय भएकाले नेता कार्याकर्ता पनि विभाजित भएका हुन् । कतिपय जिल्लामा भएका प्रर्दशनमा दुई पक्षबीच झडप समेत हुने गरेका छन् । जसले गर्दा पार्टी विभाजनको अवस्था जस्तो जिल्लामा देखिएको नेकपाकै जिल्लास्तरका नेताहरु बताउछन् । नेता र कार्यकर्ता आफुखुशी सडक र धर्नामा निस्कदा शिर्ष नेताले कुनै पहल गर्न सकेका छैनन् । उनिहरु सो प्रर्दशन देखाएर एकले अर्को पक्षलाई गलाउने रणनीतिमा रहेको पनि बुझिएको छ ।

प्रतिक्रिया