विदेशमा कोरोनाबाट हप्ता दिनमा १३ नेपालीको मृत्यु

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट एक हप्तामा विभिन्न देशमा रहेको थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका अनुसार यूएईमा थप ६, भारतमा ५, ओमानमा एक र कुवेत एक नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ मुलुकमा रहेका १४३ नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको हो । हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको एनआरएनएले जनाएको छ ।

एनआरएनए स्वास्थ्य समितिकाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्नेदर न्यून हुँदै गइरहेको तथ्यांक छ । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।

नेपालमा १५ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिए पनि हाल सम्म ६ हजार ४ सय १५ जना कोरोना मुक्त भएका छन् । यस्तै ३४ जनाले ज्यान गुमाएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया