निद्रा आह्वान !

               डा. बालकृष्ण अधिकारी

मान्छेहरू जब तिम्रा लागि आँखा हराउँछन्
तब मेरा आँखामा तिमी हराउँछ्यौ
ओ प्यारी निद्रा !
नरिसाऊ न यसरी मसँग
आऊ एकछिन बरु
विडम्बनाका कुरा गरौँ
तिम्रो–मेरो मिलनका कुरा गरौँ ।

कहिले कोेरोनाको कहर
कहिले नक्साको राष्ट्रियता
कहिले औषधीमा भ्रष्टाचार
कहिले क्वारेन्टाइनमा बलात्कार
कहिले जातिवादी सामूहिक हत्या
कहिले मजदुहरूको भोकमृत्यु
कहिले लाहुर गएका बस्तीहरूको बिचल्ली
यी अनेकथरी समाचारहरूले
तिमीलाई मबाट किन खोस्न चाहन्छन्, हँ !

’कोभिड २०’ बनिरहेको एमसिसीलाई
खै, अझै बलियो बनाउलाजस्तो छ
यो बेसारपानीले
सिमानामा मुख बाउँदै गरेको विस्तारवादी अजिङ्गर
सिमानाभित्र ठुँग्न तयार भ्रष्टचारी गोमन
तिमी बस्ने मनको शान्त तलाउमा
तुफान ल्याउन काफी छन्
पहिरोले लतारेका बस्ती देख्दा
अचेल तिमीबिना नै ऐँठन परिरहन्छ
निर्जन रातमा
बन्दकोठामा एक्लै बसिरहेको म
हेर्न बाध्य छु तिम्रो–मेरो मिलनको चङ्गाचेट ।

कागजको पैसा च्यापेर
मनोमानी कुदिरहेको समयका चुच्चाले
मेरो स्वाभिमानको शिरमा ठुँगिरहेको छ
वरिपरि मेरै गरिबीको खिल्ली उडाउँदै लामखुट्टेहरू
नाचिरहेका छन् साम्बा नृत्य
भुइँमा–भित्तामा रित्ता थाल ठटाउँदै साङ्लाहरू
गरिरहेका छन् भोक हड्ताल
समाजले बनाइदिएका आफन्तहरू
र, आफन्तले बनाइदिएको समाज
किन शङ्का गरिरहेका छन् खै, मेरो अस्तित्वमाथि !
आफन्तका भव्य ढोकामा
झुन्डिरहेका कागती र खुर्सानीले मलाई
किन ‘भित्र पस्न मनाही’ भनिरहेका छन् ।

कहिले अरूको दुस्खमा दुख्नु
कहिले आफ्नै दुस्खमा सुक्नु
देउता हुनुपर्ने मान्छेका व्यथा देख्नु
मान्छे हुनुपर्ने देउताका कथा लेख्नु
खै, केके केकेले रन्थनिन्छ यो मन !

एकातिर समेटिँदै जाँदा
अर्कातिर भरङ्ग हुन्छु
एकातिर रमाउँदै गर्दा
अर्कातिर झसङ्ग हुन्छु
मेरा परिस्थितिमा समयले
यसरी अट्टाहस गरिरहेको छ कि
निरीह प्राणी बनेर समयलाई
एकटक हेर्न मात्र सकेको छु ।

चेतनाको बत्ती निभाएर बस्नेहरूसँग
उन्मुक्त हाँसो हाँस्न कठिन हुँदोरहेछ
भावनाको डोरी काटेर रमाउनेहरूसँग
सामूहिक जीवन बाँच्न कठिन हुँदोरहेछ
मान्छेजस्ता पशु र पशुजस्ता मान्छेको बिचमा
इमानदार बन्न खोज्नु मूर्खता हुँदोरहेछ ।

मेरी प्यारी निद्रा !
म तिम्रै प्रतीक्षामा छु
तिमी जुनसुकै रूपमा भए पनि आऊ
र, मुक्त गर मलाई
नसुत्दै ऐठन पर्ने यस रङ्गमञ्चदेखि
मेरो आँखाले नदेखुन् अब
अभद्र नायकका कुरूप अभिनय
मेरा कानले नसुनुन् अब
अशिष्ट नायिकाका कर्कश संवाद !

प्रतिक्रिया